काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी आन्दोलन व्यवस्था परिवर्तनका लागि नभई सुशासन र पारदर्शिताको लागि भएको बताएका छन् । उनले युवा पुस्ता (जेनजी)ले व्यवस्था परिवर्तनका लागि नभई सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि आवाज उठाएको बताए ।
भक्तपुरको नगरकोटमा सुरु भएको नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलको २ दिने संयुक्त बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले हालै भएको युवाहरूको प्रदर्शनलाई ‘आन्दोलन’ नभई भ्रष्टाचारविरुद्धको ‘माग र प्रदर्शन’का रूपमा बताए ।
जेनजी पुस्ताका मागहरूलाई बागमती प्रदेश सरकारले गम्भीर रूपमा लिएको र सम्बोधन गर्न ठोस कदम चालिसकेको उनको भनाई छ । ‘धेरैले जेनजी प्रदर्शनलाई आन्दोलन भन्छन् । म यसलाई आन्दोलन भन्दिनँ ।’ मुख्यमन्त्री बानियाँले भने, ‘यो युवाहरूको सुशासनको माग थियो ।
भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्था चल्नुपर्यो भन्ने युवाहरूको माग थियो । उक्त प्रदर्शनमा पछि घुसपैठ भयो र धनजनको क्षति भयो ।’ उनका अनुसार आगामी ३० गते बागमती प्रदेश सरकारले जेनजी पुस्ताका अगुवाहरू (मिराज ढुङ्गाना, पुरुषोत्तम यादव लगायत) र विभिन्न प्रदेशका पूर्वमुख्यमन्त्रीहरुलाई एकै ठाउँमा राखेर ‘सङ्घीयताका चुनौती र अवसर’ विषयमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने तयारी छ ।
बागमती सरकार ‘गरिवमुखी, आयमुखी, न्यायमुखी र विकासमुखी’ लक्ष्यका साथ अघि बढेको उनले बताए । गरिब तथा सीमान्तकृत समुदायका छोराछोरीलाई डाक्टर र नर्स पढाउने जिम्मा सरकारले लिएको उनले बताए । घरबारविहीन एक हजार गरिब परिवारलाई घर बनाउन र गरिखान २ लाख रुपैयाँसम्म दिने कार्यक्रम अघि बढाएको उनको भनाई छ ।








प्रतिक्रिया