मधेशमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

सर्लाही, २८ कात्तिक । कानुनी कडाई र निरन्तर जनचेतनामूलक अभियान चलाइँदै आएको भए पनि मधेशमा उमेर नपुगी विवाह हुने संख्या अझै विकराल अवस्थामा छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणले उमेर नपुग्दै हुने विवाहको दर मधेशमा अन्य प्रदेशको तुलनामा अझै धेरै रहेको पाइएको छ ।

२०७८ को जनगणनाबाट तयार पारिएको प्रतिवेदन अनुसार मधेसमा १० वर्ष नपुग्दै विवाह हुने घटनासमेत दर्ता भएका छन् । यस्तै, यस्तो उमेरसमूहको विवाहको दर ०.२ प्रतिशत रहेको उल्लेख छ । १० देखि १४ वर्ष उमेरका बालबालिकामध्ये ९.३ प्रतिशतले विवाह गरेको पाइएको छ भने १५ देखि १७ वर्ष उमेरको समूहमा यो दर २७.७ प्रतिशत पुगेको छ ।

१८ देखि २० वर्षभित्रका युवायुवतीमध्ये ३९.५ प्रतिशतले वैवाहिक जीवनमा प्रवेश गरेका छन् । यस समूहमा पुरुषको औसत उमेर २० वर्ष रहेकामा महिलाको औसत उमेर भने १७ वर्षकै आसपास देखिएको छ, जसले मधेसमा महिलाहरू अझै पनि कम उमेरमै विवाह गर्न बाध्य हुने अवस्था रहेको देखाउँछ ।

मधेशमा १८ वर्ष नपुग्दै विवाह गर्ने महिलाको संख्या ४२.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । समग्रमा हेर्दा मधेसमा पहिलो विवाहको औसत उमेर १८ वर्ष र पुरुषका लागि २० वर्ष र महिलाका लागि १७ वर्ष देखिन्छ ।

उमेर समूह अनुसार हेर्दा २१ देखि २४ वर्षबीच विवाह गर्नेहरूको संख्या १४.५ प्रतिशतमा सिमित छ, जसले कम उमेरमै वैवाहिक बन्धनमा बाँधिने प्रवृत्ति मधेशमा अझै बलियो रहेको संकेत गर्छ ।

यस विकराल अवस्थालाई हेर्दै मधेश प्रदेश सरकारले २०७८ सालमै सन् २०३० सम्म प्रदेशलाई बालविवाहमुक्त क्षेत्र बनाउने लक्ष्यसहित १० वर्षे रणनीति सार्वजनिक गरेको थियो । यसअघि पनि प्रदेश सरकारले बालविवाहलाई दुरुत्साहनका लागि गरेका पहलहरुले पछिल्ला वर्षहरूमा उत्साहजनक सुधार हुँदै आएको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शुक्रबार  ०९ : ३३  बजे