जनकपुरधाम, २४ कात्तिक । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव आज मुख्यमन्त्री पदमा नियुक्त हुनुभएपछि जनकपुरधाममा आयोजित विरोध कार्यक्रममा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता यादवले कानुनी लडाइँअन्तर्गत सर्वोच्च अदालतमा मुद्दा दायर गर्नलागेको स्पष्ट गर्नुभयो ।
एमाले पार्टी बाहेकका ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित आफूहरू अदालती प्रक्रियामा जान लागेको उहाँले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम कांग्रेससहित विभिन्न सात दलसम्बद्ध सांसदको साथ र सहयोगमा अदालत जान लागेको नेता यादवले बताउनुभयो । यसअघि लोसपाका नेता जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन नसक्ने वातावरण सिर्जना भएपछि प्रदेश मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहानै एमाले नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएपछि कांग्रेससहितका सात राजनीतिक दल सो कदमको विरोधमा राजनीतिक तथा कानुनी लडाइँमा उत्रिएका छन् । यसैबीच मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा–१६८ को उपधारा–३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको उहाँको सचिवालयले स्पष्ट गरेको छ ।








प्रतिक्रिया