गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो : प्रकाशमान सिंह

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक इतिहासका महान् योद्धा र जनअधिकारका अग्रदूतका रूपमा व्याख्या गरे ।

उनले भने, ‘गणेशमान सिंहले नेपाल र नेपालीका लागि आफ्नो जीवनभर जनतालाई रैतीबाट अधिकार सम्पन्न सार्वभौम नागरिक बनाउन संघर्ष गर्नुभयो । उहाँ हरेक नेपालीले बोल्न, नियम अनुसार काम गर्न र स्वतन्त्र रहन पाउनुपर्ने अधिकारका पक्षमा जीवनभर लड्नुभयो ।’ नेता सिंहले गणेशमानको योगदानले नेपालमा लोकतन्त्र र प्रजातान्त्रिक मूल्यमान्यता स्थापनामा निर्णायक भूमिका खेलेको उल्लेख गरे ।

उनले भने, ‘१०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य मात्र होइन, ३० वर्षको पञ्चायती तानाशाही व्यवस्थाको विरुद्ध पनि उहाँ अग्रपंक्तिमा रहनुभयो । उहाँले ६ दशकभन्दा लामो सक्रिय राजनीतिक जीवन बिताउनुभयो, जसमा १५ वर्षभन्दा बढी कारावास भोग्नुभयो र १५ वर्ष निर्वासनमा भारतमा रहनुपर्‍यो ।’ नेता सिंहले गणेशमानको त्याग, संघर्ष र बलिदानलाई सबै नेपालीले आदर्शका रूपमा लिनुपर्ने बताए । उनले गणेशमान सिंहको जीवन र विचार आज पनि नेपालको लोकतान्त्रिक यात्राका लागि प्रेरणादायी रहेको बताए ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार  १० : ३०  बजे