जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : अध्यक्ष ओली

काठमाडौ, २३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको पूर्णबैठकलाई सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलनका नाममा असंवैधानिक तवरले सरकार गठनका साथै प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताउनुभएको हो । अध्यक्ष ओलीले देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएको जिकिर गर्नुभयो ।

अहिलेको परिस्थिति राष्ट्रको लागि अनिष्ठ परिस्थिति भएको भन्दै उनले यो परिस्थितिलाई लामो समय जान दिनु नहुने धारणा राख्नुभयो । अहिले विभिन्न प्रकारका आपराधिक तत्त्वबाट जनता अतङ्कित भएकाले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा आएको ओलीले बताउनुभयो । अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूलाई कारबाही नगरिएको बताउनुभयो ।

अपराधमा संलग्नलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दा समेत सरकारले छाड्ने आदेश दिएको उहाँको भनाइ छ। उहाँले एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जाने स्पष्ट पार्नुभयो। एमालेले अब आन्दोलनका लागि प्रशासनसँग कुनै अनुमति नलिने उहाँले बताउनुभयो। उहाँले शान्तिपूर्ण आन्दोलन संवैधानिक अधिकार भएको बताउँदै संविधानको अधिकारलाई सिडिओको आदेशले नकाट्ने बताउनुभयो। लोकतन्त्र फर्काइ छाड्ने प्रतिबद्धताका साथ एमाले सडकमा उत्रिने उहाँको भनाइ छ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, आइतबार  १८ : ४७  बजे