काठमाडौ, २३ कात्तिक । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संसद् पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन शुरू गरेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर जाने प्रयोजनका लागि विघटित संसद्मा पार्टीबाट सांसद बनेकाहरूको हस्ताक्षर सङ्कलन कार्य भइरहेको कांग्रेस नेता एवम् विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।यस्तै एमाले नेता एवम् विघटित प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले पनि प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण गर्न अदालत जानेबारेको छलफल अन्तिम चरणमा पुगेको र अहिले हस्ताक्षर सङ्कलन पनि भइरहेको बताउनुभयो ।
उहाँका अनुसार एमालेले कांग्रेससँगै विघटनविरुद्ध रिट लिएर जाने कि एक्ला–एक्लै जाने भन्ने विषयमा पनि कुरा भइरहेको छ ।जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिश गर्नुभएको थियो । कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आउँदो फागुन २१ गतेका लागि चुनाव तोक्नुभएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १७ वटा रिट निवेदन परेकामा ती रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर सर्वोच्च अदालतले विपक्षीहरूबाट लिखित जवाफ माग गरेको छ ।








प्रतिक्रिया