भक्तपुर, २१ कात्तिक । वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका स्वास्थ्यका बेथिति अन्त्य गर्ने लक्ष्यका साथ औषधि, सर्जिकलका सामानदेखि उपकरणसम्मको खरिदमा जिल्ला अस्पतालहरुले अनिवार्य बोलपत्र आव्हान गरि खरिद गर्नु पर्ने व्यबस्था गरेको छ ।
यसअघि जिल्ला अस्पतालहरुले औषधिदेखि औषधिजन्य स्वास्थ्य सामग्रीहरु खरिदका क्रममा टुक्रा–टुक्रा पारेर महिनै पिच्छे बिचौलियाको दबाबमा औषधि खरिद गर्ने गरेको सूचना पाएपछि मन्त्रालयले प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो ।
वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहरुलाई औषधि एवं औषधिजन्य पदार्थ र उपकरण खरिदसम्ममा अनिवार्य बोलपत्र आव्हान गर्नु पर्ने निर्देशन जारी गरेको जानकारी दिनुभयो ।
जिल्ला अस्पताल एवं स्वास्थ्य संस्थाहरुले २० लाखसम्मको खरिदमा बोलपत्र आव्हान नगरि सिधै खरिद गर्न सक्ने नियममा टेकेर बिचौलियाको प्रभावमा अस्पतालहरुले पटक पटक गरेर महिनै पिच्छे औषधि एवं औषधिजन्य पदार्थ खरिद गरि अनियमितता गरेको आरोप लाग्दै आएपछि मन्त्री थापाले यस्तो निर्देशन दिनु भएको हो ।
स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, ‘हामी विरामीको स्वास्थ्यका लागि बजेट विनियोजन गरिरहेका हुन्छौँ तर केही बिचौलियाहरुले नेताहरु तथा उपल्लो निकायको हवाला दिदै जिल्लाका जनस्वास्थ्य प्रमुखहरु, अस्पतालका निर्देशकदेखि प्रशासनसम्मलाई दबाब दिने र कतै मिलोमतो गरेर टुक्रा–टुक्रा पारेर एक आर्थिक वर्षसम्ममा करोडभन्दा बढीको खरिद गरेको पाईएपछि यस्ता वेथितिलाई रोक्न मन्त्रालयले २० लाखसम्मको औषधि एव अन्य सामग्री खरिदमा पनि अनिवार्य टेन्टर प्रक्रिया पुरा गर्न निर्देशन दिएका हौ, यो कार्यान्वयनमा आउँछ ।’
उहाँले प्रदेशका १३ वटै अस्पताललाई चालू आर्थिक वर्षदेखिनै यो निर्देशनलाई कार्यान्वयनमा ल्याउन परिपत्र गरेको बताउदै स्वास्थ्य मन्त्रालयमा समेत बिचौलियाले प्रभाव पार्न खाजेको बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, ‘म आफै पनि स्वास्थ्य मन्त्रालयलाई भ्रष्टाचारमुक्त बनाउँछु भनेर लागिपरेको छु, मैले मेरो आफ्नै गाडी प्रयोग गरेको छु, पेट्रोलको सुविधा समेत लिएको छैन तर यहाँ विरामीका लागि खरिद गर्ने औषधिमा समेत वर्षौदेखि बिचौलिया हावी भएको पाईयो, त्यसलाई हटाउन खोज्दा कर्मचारीहरुलाई धम्की दिएको जानकारी आएको छ ।’
उहाँले केही विचौलियाले मन्त्रालयदेखि अस्पतालसम्मका कर्मचारीहरुलाई बढुवा गरिदिने, कतिपयलाई राम्रो अस्पतालमा सरुवा गरिदिने, कतिपयलाई अस्पतालका निर्देशक बनाइदिन्छु भन्दै खरिद प्रक्रियामा प्रभाव पार्ने गरेको पाईएपछि मन्त्रालय यसलाई रोक्न लागिपरेको बताउनुभयो ।
केही अस्पतालका निर्देशकहरुले औषधि एव औषधि जन्य सामान खरिदमा टुक्रा पारेर सिधै खरिद नगरी बोलपत्र आव्हान गरेमा सरुवा गरिदिने धम्की बिचौलियाले दिएको जानकारी गराएको बताउदै स्वास्थ्य क्षेत्रका यस्ता गलत कार्य रोक्न लागिहेको मन्त्री थापाले बताउनुभयो ।
बोलपत्र आव्हान गर्दा बिट गर्न नसक्ने तर बिचौलियाका रुपमा काम गरेर सबै अस्पतालहरुबाट वार्षिक लाखौ रकम अनियमितता गर्ने गरेको पाईएको बताउदै बिचौलिया रोक्न र सहज रुपमा बोलपत्र विट गर्ने व्यबस्थालाई औषधि एवं सर्जिकल व्यवसायीहरुले सहयोग गर्नु पर्ने उहाँले बताउनुभयो ।
मन्त्रालयका कर्मचारीदेखि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र अस्पतालका निर्देशक एवं कर्मचारीहरु, जनप्रतिनिधिहरु समेतको मनोबल गिर्ने गरि बिचौलियाले बजेट र कार्यक्रम नभएको शिर्षकमा समेत सामान खरिद गर्न दबाब दिने धम्की दिने गरेको, धम्कीपूर्ण फोन र म्यासेज गर्ने गरेको पाईएपछि मन्त्रालयले बिचौलिया रोक्न १० लाखसम्मको सामान खरिदमा पनि अनिवार्य बोलपत्र आव्हान गर्ने व्यबस्था लागू गरेको मन्त्रालयका भनाई छ ।
स्वास्थ्य मन्त्रालय आपूर्ति महाशाखाका प्रमुख अर्जुन सापकोटाले बिचौलियाको पटक पटकको धम्कीले कर्मचारी आजित बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी काम गर्ने कर्मचारी हौ, नीति नियम मान्नै पर्यो तर नेतादेखि उपल्लो निकायका कर्मचारीको हवाला दिदै बिचौलिया हावी हुन्छन्, उनीहरुले भनेजस्तो गरि खरिद प्रक्रिया अगाडि नबढाए, आवश्यक भए पनि नभएपनि उनीहरुले भनेका सामान खरिद नगरे फोनबाट टर्चर दिन्छन्, हाम्रै फोटो रोखेर केही मिडियामा हाम्रा बिरुद्ध समाचार बनाउँछन् र चरित्र हत्या गरेर बदनाम गर्छन्, यो चल्दै आएको छ, अहिले मन्त्रालयले बिचौलिया रोक्न खोज्दा थप धम्की आएका छन् । सही गरौ बिचौलियाको तनाब, गलत गरौ अख्तियारको तनाब हामी कर्मचारी साँच्चै मारमा छौं ।’
कर्मचारीका बिरुद्ध बिचौलियाले अनावश्यक एवं झूटा समाचार लेखाएर जेनजी वा कसैको नाममा मन्त्रालय तोडफोड भयो वा कर्मचारीमाथि हातपात भयो भने त्यसको जिम्मा कसले लिने भन्दै मन्त्रालयका कर्मचारीहरुले बिचौलिया अन्त्य गर्न सिगो सरकार र जनप्रतिनिधीले साथ दिन माग गरेका छन् ।
बिचौलियाहरुले मन्त्रालयको आपर्ति महाशाखादेखि सचिवसम्मलाई, बिभिन्न अस्पतालका निर्देशक र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरुलाई आफूहरुसंग भएका सामान खरिद गरिदिन र आर्थिक वर्षको अन्त्य आउँन लाग्दा मिति सकिन लागेको सामानसमेत खरिद गरिदिन दबाब दिने गरेका पाईएको छ ।
मन्त्रालयका अनुसार अस्पताल र जनस्वास्थ्य प्रमुखहरुलाई बिचौलियाले आफूहरुसंग भएको औषधि, उपकरण, सर्जिकलका सामानहरु कानून मिचेर सिधै प्रक्रियाबाट खरिद गरिदिन दबाब दिने, मन्त्रालयदेखि जिल्लामा दबाब दिन ओहोरदोहोर गर्दा बिचौलिाको गाडीमा पेट्रोलसमेत हालिदिन दबाब दिने गरेको छ ।
मन्त्रालयले जारी गरेको निर्देशन अनुसार बोलपत्रको प्रक्रियाबाट जादा व्यवसायीहरुमाझ स्वच्छ प्रतिस्पर्धा हुने, गुणस्तरीय सामान आपूर्ति हुने र बजेटसमेतको वचत हुने भएपछि सबै सामान खरिदमा अनिवार्य बोलपत्रको व्यबस्था गरिएको मन्त्री थापामगरले जानकारी दिनुभयो ।








प्रतिक्रिया