साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत

काठमाडौं, २८ असोज । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

बुधबार भएको सुनुवाइपछि समितिले सुनारको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

सुनारविरुद्ध घरेलु हिंसा, आर्थिक लेनदेन तथा कूटनीतिक मर्यादाविपरीतका विषयमा उजुरी परेको थियो। त्यस्तै, जर्मनीबाट डिपोर्ट गरिएको विषयमा समेत प्रश्न उठेको थियो।

सुनुवाइका क्रममा समितिले उहाँमाथि परेका उजुरी र आरोपबारे प्रश्नोत्तर गरेको थियो। त्यसपछि समितिले उहाँको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

सरकारले साउदी अरबका लागि राजदूतमा सिफारिस गरेका सुनारको नाम अस्वीकृत भएसँगै उक्त पदमा नयाँ उम्मेदवार सिफारिस गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार  १९ : ३६  बजे