नेपालबाट बाहिरियो यस वर्षको मनसुन, सरदरभन्दा १२ दिन ढिलो

काठमाडौं, २८ असोज । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति असोज १६ गते हो। तर यस वर्ष असोज १७ गतेदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो।

महाशाखाका अनुसार मनसुन बाहिरिए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव कायम रहन सक्छ। त्यसैले मनसुन बाहिरिँदैमा वर्षाको सम्भावना पूर्ण रूपमा समाप्त नहुने मौसमविद्हरूले बताएका छन्।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार  १७ : ४७  बजे