ग्रीनसिटी हस्पिटल बन्यो कर्णाली याक्सको मेडिकल पार्टनर

काठमाडौं, २७ असोज । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र ग्रीनसिटी हस्पिटल‌‌ प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र ग्रीनसिटी हस्पिटल‌‌ प्रालिका अध्यक्ष लोकबहादुर टण्डनबीच सम्झौता भएको छ ।

सम्झौतासँगै एनपिएल सिजन ३ को लागि ग्रीनसिटी हस्पिटल‌‌ कर्णाली याक्सको अफिसियल मेडिकल पार्टनरको रूपमा रहनेछ । सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले खेलाडीको स्वास्थ्य र शारीरिक तन्दुरुस्ती टोलीको प्रदर्शनसँग प्रत्यक्ष जोडिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रतिस्पर्धात्मक क्रिकेटमा खेलाडीको स्वास्थ्य, फिटनेस र चोटपटकबाट सुरक्षित पुनरागमन निकै महत्वपूर्ण हुन्छ । ग्रीनसिटी हस्पिटलसँगको सहकार्यले खेलाडीलाई आवश्यक मेडिकल सहयोग उपलब्ध गराउन मद्दत पुग्नेछ । खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण तयार गर्नु हाम्रो उद्देश्य हो ।’

ग्रीनसिटी हस्पिटलका अध्यक्ष टण्डनले कर्णाली याक्ससँगको सहकार्यलाई खेलाडीको स्वास्थ्य र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने अवसरका रूपमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘खेलाडीको स्वास्थ्य र सुरक्षित खेल वातावरण निर्माणमा मेडिकल सहयोगको महत्वपूर्ण भूमिका हुन्छ । कर्णाली याक्ससँगको सहकार्यले खेलकुद क्षेत्रसँग हाम्रो सम्बन्ध थप मजबुत बनाउने र खेलाडीको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने विश्वास लिएका छौँ ।’

एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ । प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा इङ्ग्ल्यान्डका मार्क वाट तथा बंगगलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  १८ : १३  बजे