काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ । लगातार चौथो दिन नेप्से सकारात्मक भई बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंक बढेर २५९९.९३ विन्दुमा पुगेको छ । सोमबार पनि ४ अंकले नेप्से बढेको थियो ।
सेन्सेटिभ इण्डेक्स २.३५ अंक, फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक बढेको छ । १३ मध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक १.७७ प्रतिशत बढेको छ । बैंकिङ विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । सोमबार चार अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५१ स्टकको चार अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँबराबरको एक करोड ३५ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
घलेम्दी हाइड्रो कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । माउन्टेन इनर्जीको करिब २६ करोड, कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ । सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य १२.४४ प्रतिशत बढेको छ ।
अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन स्नो रिभर्सको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।











प्रतिक्रिया