आज राति ६ घण्टा पृथ्वी राजमार्ग बन्द हुने, दसैँको मुखमा यात्रुलाई सास्ती

काठमाडौं, २६ असोज । धादिङको गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ । दसैँ मनाउन घर जाने यात्रुको चाप बढिरहेका बेला राजमार्ग बन्द हुने भएपछि यात्रु तथा यातायात व्यवसायी थप समस्यामा पर्ने भएका छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले आज सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले मर्मतसम्भारका लागि राजमार्गमा सवारी आवागमन बन्द गरिने जानकारी दिनुभएको हो ।

गत असोज २३ गते शुक्रबार सडक भासिएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि सञ्चालनमा आएको सडक थप मर्मत गर्नुपर्ने भएपछि पुनः रातिको समयमा बन्द गर्न लागिएको हो ।

दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा यात्रुको आवागमन प्रभावित हुने भन्दै यातायात व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले चाडपर्वका बेला राजमार्ग बन्द हुँदा यातायात सञ्चालनमा चुनौती थपिएको बताउनुभयो ।

‘दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,’ उहाँले भन्नुभयो । दसैँ मनाउन काठमाडौं छाड्ने यात्रुको सङ्ख्या पनि उल्लेख्य छ ।

असोज १७ देखि २५ गतेसम्म काठमाडौंको नयाँ बसपार्कबाट मात्रै २ लाख ७ हजार २५१ जना यात्रु बाहिरिएका छन् । यात्रुको चाप बढिरहेका बेला राजमार्ग मर्मतका लागि सवारी आवागमन बन्द गरिँदा यात्रुले थप असुविधा बेहोर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १६ : १५  बजे