महामन्त्रीमा पराजित भएपछि नैनसिंह महरको घोषणा : कांग्रेस बदल्ने अभियान जारी रहन्छ

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै, आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

महरले कांग्रेस परिवर्तनको संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित नरहेको स्पष्ट पार्दै पार्टीको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो यात्रा निरन्तर अघि बढ्ने बताउनुभएको छ ।

‘कांग्रेस बदल्ने हुटहुटी साकार होस् र परिवर्तनको संकल्पले सार्थकता पाओस् । पार्टीलाई नयाँ सोच, असल राजनीतिक संस्कार, जिम्मेवार व्यवहार र परिणाममुखी कार्यशैलीसहित अघि बढाउने सवालमा हामी सँगै रहनेछौं, महरले भन्नुभएको छ ।

उहाँले महाधिवेशनका क्रममा प्राप्त विश्वास, माया र सद्भावलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण ऊर्जा र जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक यात्राको एउटा चरण मात्रै होस विचार, मूल्य, निष्ठा र परिवर्तनप्रतिको प्रतिबद्धता नै राजनीतिक यात्राका स्थायी आधार हुन् ।

महरले समाज परिवर्तनका लागि राजनीति बदलिनुपर्ने, राजनीति बदल्न राजनीतिक संस्कार बदलिनुपर्ने र राजनीतिक संस्कार बदल्न नेतृत्वको चाल, चरित्र र चेहरामा सकारात्मक परिवर्तन आउनुपर्ने धारणा अघि सार्नुभएको छ । चालमा इमानदारी, चरित्रमा निष्ठा र चेहरामा विश्वास हुनुपर्छ ।

विचारमा नवीनता, व्यवहारमा शालीनता र कर्ममा परिणाम देखिनुपर्छ,’ उहाँले आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट पार्दै समाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले नेपाली कांग्रेसलाई समयानुकूल, विचारप्रधान, जनताप्रति उत्तरदायी र परिणाममुखी पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण, आपसी सहकार्य र सकारात्मक परिवर्तनका पक्षमा आफ्नो भूमिका अझ जिम्मेवार ढंगले अघि बढ्ने उहाँको भनाइ छ । महरको सन्देशले महाधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत जित–हारभन्दा माथि उठेर पार्टी रूपान्तरणको बृहत्तर यात्रासँग जोड्ने प्रयास गरेको छ ।

नेतृत्वमा आउने परिवर्तनलाई संगठन, कार्यशैली र राजनीतिक संस्कारमा देखिने परिवर्तनसँग जोड्नुपर्ने उहाँको दृष्टिकोण छ । ‘सकारात्मक परिवर्तनको यात्रा कुनै पद, प्रतिस्पर्धा वा परिणाममा रोकिने छैन। कांग्रेसको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनले सार्थक गन्तव्य प्राप्त नगरेसम्म मेरो अभियान अथक, अविचल र निरन्तर अघि बढिरहनेछ,’ महरले उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो राजनीतिक यात्राको मूल मर्म हिजो पनि परिवर्तन, आज पनि परिवर्तन र भोलि पनि सकारात्मक परिवर्तन नै रहने स्पष्ट पार्दै आशा, विश्वास र नयाँ सम्भावनासहित अघि बढ्ने सन्देश दिनुभयो । पद एउटा अवसर हो, तर परिवर्तन जीवनभरको प्रतिबद्धता हो भन्ने भावसहित महरले कांग्रेसको उज्ज्वल भविष्य र असल राजनीतिक संस्कार निर्माणका लागि सहकार्यको ढोका खुला राख्नुभएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १५ : ५३  बजे