गाउँको कथामार्फत देश बुझाउने डा. अर्यालको ‘स्थानबोध’ सार्वजनिक

काठमाडौं, २५ असोज । त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिताका उपप्राध्यापक डा. देवराज अर्यालको पुस्तक ‘स्थानबोध’ सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ हास्यव्यंग्यकार प्रा.डा. रामकुमार पाँडेले पुस्तक सार्वजनिक गर्नुभयो ।

पुस्तक सार्वजनिक गर्दै प्रा.डा. पाँडेले ‘स्थानबोध’ले नेपालको एउटा गाउँको कथा मात्र नभई समग्र भूगोल र समाजको प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले देशका अन्य क्षेत्र र भूगोलका विषयमा पनि यस्ता कृति लेख्न लेखकहरूलाई आग्रह गर्नुभयो ।

नवलपरासीको द्वारीलाई केन्द्रमा राखेर लेखिएको ‘स्थानबोध’मा गाउँको माटो, बाल्यकालका स्मृति, सामाजिक सम्बन्ध, संस्कृति, भूगोल र विकासका विविध आयाम समेटिएका छन् । ग्रामीण जीवनका अनुभव र बदलिँदो सामाजिक परिवेशलाई समेट्दै पुस्तकले एउटा गाउँको कथाबाट समग्र समाज र देशलाई बुझ्ने दृष्टिकोण प्रस्तुत गरेको छ ।

कृतिमा बाल्यकालका सम्झना, शिक्षा, कृषि, पशुपालन, संस्कृति, सञ्चार र राजनीतिक चेतनासँगै गाउँको आर्थिक तथा सामाजिक जीवनका विविध पक्ष समेटिएका छन् । सडक विस्तारपछि उत्पादनमा आएको परिवर्तन, गाउँबाट हुने बसाइँसराइ, प्राकृतिक स्रोतको उपयोग र विकासका चुनौतीलाई पनि पुस्तकमा विश्लेषण गरिएको छ ।

पुस्तकले विकासलाई भौतिक पूर्वाधार विस्तारमा मात्र सीमित नराखी मानिस, प्रकृति, संस्कृति र सामाजिक सम्बन्धसँग जोडेर बुझ्नुपर्ने सन्देश दिएको छ । ग्रामीण समाजमा सञ्चारको विकास, स्थानीय सञ्चार संस्कृति र राजनीतिक चेतनामा आएको परिवर्तनले लेखकको पत्रकारितासम्बन्धी शैक्षिक तथा व्यावसायिक अनुभवलाई पनि प्रतिबिम्बित गरेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्याल, त्रिचन्द्र क्याम्पसका नेपाली विभागका प्रमुख डा. अंगदमणि गौतम, महेन्द्ररत्न क्याम्पस ताहाचलका प्रमुख प्रा.डा. ओम बराल, वरिष्ठ न्युरोसर्जन डा. राजेन्द्र श्रेष्ठ, समाजसेवी पासाङ काजी शेर्पा र डा. शशि मरासिनीलगायतले पुस्तकबारे चर्चा गर्नुभएको थियो ।

वक्ताहरूले ग्रामीण जीवनमा आधारित अध्ययन तथा लेखनको आवश्यकता औँल्याउँदै ‘स्थानबोध’ले गाउँ, समाज र विकासलाई बुझ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । लेखक डा. अर्यालले ‘स्थानबोध’ आफ्ना अनुभव, अनुभूति, स्मृति र समाजसँगको सम्बन्धलाई शब्दमा अभिव्यक्त गर्ने साहित्यिक प्रयास भएको बताउनुभएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार  १३ : १५  बजे