काठमाडौं, २४ असोज । नेपाली मौलिक खानाको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो पक्कु फेस्टिभल–२०८३ आयोजना गर्ने भएको छ।
असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभलमा पक्कुसहित विभिन्न नेपाली परिकार प्रस्तुत गरिनेछ। काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्टका आउटलेटमा फेस्टिभल सञ्चालन हुनेछ। साथै, भैरहवामा आयोजना हुने फुड फेस्टिभलमार्फत पनि पक्कुको प्रवर्द्धन गरिने समूहले जनाएको छ।
पक्कुलाई नेपाली मौलिक स्वाद, संस्कृति र आतिथ्यताको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्यसहित फेस्टिभल आयोजना गर्न लागिएको प्रेसिडेन्ट बिजनेस ग्रुपले जनाएको छ। समूहले विगत तीन वर्षदेखि पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ।
समूहका अनुसार फेस्टिभलको उद्देश्य परम्परागत परिकारलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुनामाझ परिचित गराउनुका साथै नेपाली खानालाई पर्यटनसँग जोड्नु हो। नेपाली मौलिक परिकारको व्यावसायिक प्रवर्द्धनले स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने समूहको विश्वास छ।
होटल तथा रेस्टुरेन्ट व्यवसायमा दुई दशकदेखि सक्रिय प्रेसिडेन्ट बिजनेस ग्रुपले आगामी दिनमा रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा नयाँ आउटलेट सञ्चालन गर्ने तयारी गरेको छ। समूहअन्तर्गतका विभिन्न व्यवसायमा हाल ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ।
पक्कु फेस्टिभललाई सीमित अवधिको खानाको उत्सवमा मात्र सीमित नराखी नेपाली रैथाने परिकारको दीर्घकालीन ब्रान्डिङ र बजार विस्तार अभियानका रूपमा अघि बढाउने समूहको लक्ष्य छ।
नेपाली मौलिक खानामा स्वादसँगै संस्कृति, इतिहास र आतिथ्यताको पहिचान जोडिएकाले यसको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने समूहले जनाएको छ।













प्रतिक्रिया