मुजफ्फरपुर प्रहरीले एक महिनामै समात्यो १ हजार ७६९ जना अभियुक्त

रौतहट २२ असोज । भारत बिहारको मुजफ्फरपुर प्रहरीले अपराध नियन्त्रणमा कडा नीति अपनाउँदै एक महिनामै उल्लेख्य कारबाही गरेको छ । जिल्ला प्रहरी प्रमुख एसएसपी कान्तेश कुमार मिश्रको कमान्डमा प्रहरीले अपराधी, फरार अभियुक्त, मदिरा तस्कर तथा ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध आक्रामक अभियान चलाएको हो ।

एसएसपी मिश्रले आफ्नो कार्यकालमा अपराध नियन्त्रणमा ‘शून्य सहनशीलता’को नीति अघि सार्नुभएको छ । कानुन उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने उहाँको कार्यशैलीका कारण मुजफ्फरपुर प्रहरीको कारबाही अहिले चर्चामा छ ।

सेप्टेम्बर २०२६ मा मात्रै प्रहरीले विभिन्न अपराधमा संलग्न १ हजार ७६९ जना लाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ७८८ जनालाई जेल पठाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यस्तै, मदिरासम्बन्धी घटनामा मात्रै १६३ जना पक्राउ परेका छन् । अवैध मदिरा कारोबार नियन्त्रणमा पनि प्रहरीले विशेष अभियान चलाएको छ ।

सो अवधिमा प्रहरीले ८६९ लिटर घरेलु मदिरा र १५ हजार ९३२ लिटर विदेशी मदिरा बरामद गरेको जनाएको छ । फरार अभियुक्त तथा अदालतबाट जारी भएका वारेन्ट कार्यान्वयनमा समेत प्रहरीले कडाइ गरेको छ । एक महिनाको अवधिमा ४ हजार ३७७ वटा वारेन्ट कार्यान्वयन गरिएको छ भने ३२० वटा मुद्दामा कुर्कीको (फरार अभियुक्तको घर तोड फोड गर्ने) कारबाही गरिएको छ ।

सडकमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि पनि प्रहरीले कडा निगरानी बढाएको छ । सवारी जाँचका क्रममा नियम उल्लंघन गर्नेबाट ४१ लाख ४३ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ । प्रहरीको कारबाहीका क्रममा १९ थान हतियार, २२ राउन्ड गोली, ८ लाख १ हजार २२९ रुपैयाँ नगद तथा ५२ वटा सवारीसाधन समेत बरामद गरिएको छ ।

मुजफ्फरपुर प्रहरीको पछिल्लो तथ्यांकले एसएसपी मिश्रको नेतृत्वमा अपराध नियन्त्रण, अवैध मदिरा कारोबार रोकथाम, फरार अभियुक्त पक्राउ तथा कानुन कार्यान्वयनमा प्रहरी आक्रामक रूपमा अघि बढेको देखाएको छ । अपराधमा संलग्न जोसुकै भए पनि नछाड्ने र कानुनको दायरामा ल्याउने नीति लिएका एसएसपी मिश्रको ‘शून्य सहनशीलता’ कार्यशैली अहिले मुजफ्फरपुर प्रहरीको प्रमुख विशेषता बनेको देखिन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  १७ : ४३  बजे