बालेन, रवि र सुधनलाई जेलमा हाल, होइन भने जेनजी आन्दोलनकारीलाई रिहाइ गर : सरिस्मा थापा

आन्दोलनका योजनाकार सत्तामा, सहभागी जेलमा’ भन्दै सरिस्मा थापाको गम्भीर ध्यानाकर्षण

काठमाडौं, २० असोज । जेनजी आन्दोलनकी अगुवा सरिस्मा थापाले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी जनआन्दोलनका क्रममा राज्यको दमन, योजनाबद्ध हिंसा तथा राज्यविहीनताको अवस्था सिर्जना भएको दाबी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

असोज २० गते जारी गरेको ‘गम्भीर ध्यानाकर्षण’ वक्तव्यमा थापाले आन्दोलनको नेतृत्व तथा योजनामा संलग्न रहेको आरोप लगाइएका व्यक्तिहरू अहिले राज्यका महत्वपूर्ण जिम्मेवारीमा पुगेको तर आन्दोलनमा सहभागी भएकाहरूलाई मात्र कारबाही र जेलमा राखिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

थापाले प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सभामुख डीपी अर्याल तथा मन्त्री सुदन गुरुङलगायतका व्यक्तिहरूको भूमिकामाथि प्रश्न उठाउनुभएको छ । उहाँले आन्दोलनका क्रममा युवाहरूलाई उक्साएर हिंसा भड्काउन भूमिका खेलेको, जेल फोड्ने कार्यको अगुवाइ वा सहयोग गरेको तथा आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका निर्वाह गरेको जस्ता आरोप लगाउनुभएको छ ।

उहाँले आन्दोलनका क्रममा आदेश दिने तथा गोली प्रहार गर्ने सुरक्षा निकायका अधिकारीहरूमाथि अहिलेसम्म प्रभावकारी कारबाही नभएको तर आन्दोलनमा सहभागी भएका व्यक्तिहरूलाई मात्रै जेलमा राखिएको भन्दै यसलाई विभेदपूर्ण र अन्यायपूर्ण भएको बताउनुभएको छ ।

थापाले आन्दोलनसँग सम्बन्धित घटनामा संलग्न सबै पक्षमाथि समान कानुनी व्यवहार हुनुपर्ने माग गर्नुभएको छ । उहाँका अनुसार बालेन्द्र शाह, रवि लामिछाने, सुदन गुरुङलगायतमाथि पनि कानुनी कारबाही हुनुपर्छ, अन्यथा आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेका सम्पूर्ण आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्छ ।

त्यसैगरी, जेनजी आन्दोलनमाथि दमन गर्नेहरूमाथि समेत निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्नुपर्ने उहाँको माग छ । थापाले राज्यले उक्त विषयलाई गम्भीरतापूर्वक सम्बोधन नगरे मुलुक पुनः आन्दोलनतर्फ जान सक्ने चेतावनीसमेत दिनुभएको छ ।

उहाँले आगामी आन्दोलन थप भयानक स्वरूपमा हुन सक्ने भन्दै त्यसका लागि तयार रहन सबैलाई आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १६ : २२  बजे