काठमाडौं, २० असोज । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । काठमाडौंमा भीषण हावाहुरी र असिनापानीका बाबजुद पनि अहिले विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने कार्यले तीव्रता पाएको छ ।
पार्टीको सभापति, वरिष्ठ उपसभापति, खुला र समावेशी उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम जारी छ । यही क्रममा काठमाडौंका श्यामकृष्ण खड्गीले सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले केही बेरअघि मात्र आफ्नो मनोनयन दर्ता गर्नुभएको हो ।
खड्गी करिब ४० वर्षदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) र कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले वडा कार्यसमिति सदस्यदेखि क्षेत्रीय सभापतिसम्मको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । कांग्रेसमा सभापतिमा गगन थापाको बलियो सम्भावना छ ।
तर उहाँलाई सर्वसम्मत हुन नदिन खड्गीका साथै पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पनि सभापतिमा उम्मेदवारी दिनुहुने भएकोछ । राठौर आज मात्र बर्दिया–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको हो । खड्गी सिद्धार्थ वनस्थली स्कुलमा शिक्षक हुँदा गगन थापा उहाँको विद्यार्थी हुनुहुन्थ्यो ।











प्रतिक्रिया