११.९६ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्बमै सीमित

काठमाडौं, २० असोज । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने सामान्य बढेर बन्द भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स २.०० अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ । आज कारोबारमा आएको १३ मध्ये दुई उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी ११ उपसमूहको सेयर मूल्य बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

सोमबार तीन अर्ब २७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज कारोबारमा तीन अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । आज पनि घलेम्दी हाइड्रो कम्पनीको २३ करोड ९१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

लिबर्टी इनर्जीको करिब १४ करोड र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे नौ करोड रुपैयाँ नाघेको छ । त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य ५।११ प्रतिशत बढेको छ । मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । सर्वोत्तम पेन्ट्सको सेयरमूल्य करिब ५ प्रतिशत घटेको छ ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १५ : ३४  बजे