काठमाडौं, २० असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । महरले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा मनोनयन दर्ता गराउनुभएको हो ।
महरले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताउनुभयो । उहाँले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताउनुभएको हो । महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो ।

यस्तै, कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यले उम्मेदवारी दिनुभएको छ । खस आर्यतर्फ उम्मेदवारी दिनुभएको उहाँले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
तर उहाँले कुनै पनि पद लिनुभएन अर्थात् उहाँ पद ओगट्न भन्दा पनि पार्टीलाई संविधानअनुसार र पार्टीको विधानअनुसार चलाउनुपर्छ भनेर कुनै पनि पद नलिई विशेष महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्नुभएको थियो । आचार्यले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समेत उम्मेदवारी नदिई पार्टीलाई संगठित गर्न लागिपर्नुभएको थियो ।
आचार्य लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेहरूसँग सँगसँगै काम गर्नुभएको नेता हो ।











प्रतिक्रिया