रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, १९ असोज । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै भएको छ । केही दिनदेखि सेयर बजारमा गएको पहिरो थामिएको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ ।

सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंक घटेको छ । १३ मध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ । व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक १.१० प्रतिशत घटेको छ ।

होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। शुक्रबार चार अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा तीन अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज घलेम्दी हाइड्रो कम्पनीको २२ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको आठ करोड ४९ लाख रुपैयाँ र शिवम सिमेन्ट्सको कारोबार रकम ८ करोड ४३ लाख रुपैयाँ नाघेको छ । आज शीर्ष १० स्टकहरुमा अधिकांश ऋणपत्र रहेका छन् ।

१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत, १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशत बढेको छ। ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  १६ : ४६  बजे