काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढ्न सके अहिलेको धक्काबाट माथि उठ्दै अझ बलियो अवस्थामा पुग्न सकिने बताउनुभएको छ ।
पार्टी कार्यालय च्यासलमा आज केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर अघि बढिरहेको पार्टीले विभिन्न समयमा चुनौती र धक्का सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।
उहाँले अहिलेको परिस्थितिबाट निराश हुनुभन्दा पार्टीलाई अझ बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मुलुकको विकास र समृद्धिको अभियानमा अघि बढिरहेको एमालेलाई रोक्न विभिन्न तत्वहरूले प्रयास गरिरहेको दाबीसमेत उहाँले गर्नुभयो ।
अध्यक्ष ओलीले देशमा प्रतिगमन भएको र पार्टीले धक्का बेहोर्नुपरेको अवस्था भए पनि सानातिना विषयमा अल्झिन नहुने बताउनुभयो। फराकिलो सोच र दृढताका साथ अघि बढ्न सके पार्टी लडेको ठाउँबाटै पुनः उठ्न सक्ने र विगतको अवस्थाभन्दा अझ अगाडि बढ्न सक्ने उहाँको विश्वास थियो ।
शपथग्रहण गरेका केन्द्रीय सदस्यहरूले पार्टी र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो। केन्द्रीय सदस्यहरू समाजमा आदर्श व्यक्तिका रूपमा स्थापित हुनुपर्ने भन्दै उहाँले गलत आचरण त्यागेर शालीनता, विनम्रता, अनुशासन र कम्युनिस्ट आचरणलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले बदलिँदो प्रविधि र समसामयिक परिवेशअनुसार नेता–कार्यकर्ताले आफूलाई रूपान्तरण गर्नुपर्नेमा पनि जोड दिनुभयो । अहिले ‘आईटी वार’को समय रहेको उल्लेख गर्दै उहाँले आधुनिक प्रविधिको ज्ञान हासिल गरी त्यसको प्रभावकारी प्रयोगमार्फत पार्टी गतिविधिलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले नयाँ परिस्थितिलाई बुझेर संगठनलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।











प्रतिक्रिया