भारतीय मुख्य निर्वाचन आयुक्तविरुद्ध कक्रोच जनता पार्टीले आज जन्तर मन्तरमा विरोध प्रदर्शन गर्दै

काठमाडौं, १६ असोज । भारतीय मुख्य निर्वाचन आयुक्त ज्ञानेकुमारविरुद्ध कक्रोच जनता पार्टीले शुक्रबार नयाँ दिल्लीमा प्रदर्शन गर्दैछ । भोट चोरीको आरोप खेपिरहेका मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारले पदबाट राजीनामा नदिएसम्म प्रदर्शन नरोकिने कक्रोच जनता पार्टीले चेतावनी दिएको छ ।

आज दिउँसो ज्ञानेशकुमारविरुद्ध जन्तर मन्तरमा विरोध प्रदर्शनको तयारी भइरहेको छ । दिल्ली प्रहरीले धारा १६३ लागू गर्दै जन्तर मन्तरमा आयोजना गरिएको विरोध प्रदर्शनका लागि अनुमति दिन अस्वीकार गरेको छ । सामाजिक कार्यकर्ता र विद्यार्थी नेताहरूले विरोध प्रदर्शनको आयोजना गरेका छन् ।

विरोध प्रदर्शनलाई ध्यानमा राख्दै, प्रहरीले नयाँ दिल्ली र वरपर सुरक्षा बढाएको छ । सम्भावित भीड जम्मा हुने सम्भावनालाई ध्यानमा राख्दै जन्तर मन्तरमा केन्द्रीय सशस्त्र प्रहरी बलका कर्मचारीहरू तैनाथ गरिएको छ । दिल्ली प्रहरीले भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गर्दै सुरक्षा बढाएको छ ।

नयाँ दिल्लीका डीसीपीले सामाजिक सञ्जाल प्लेटफर्ममा लेख्नुभएको छ,‘नयाँ दिल्लीमा सार्वजनिक सुरक्षा, कानून व्यवस्था र सहज ट्राफिक प्रवाह सुनिश्चित गर्न बीएनएसएस २०२३ को धारा १६३ लागू गरिएको छ । यसअन्तर्गत, अनुमतिबिना मानिसहरूको भेला, सार्वजनिक भाषण, नाराबाजी, जुलुस, प्रदर्शन, धर्ना र आदेशमा तोकिएका अन्य गतिविधिहरू निषेधित छन् ।’

कांग्रेससहित धेरै विपक्षी दलहरूले निर्वाचन आयोगले मतदाता सूची हेरफेर गरेर भाजपालाई चुनाव जित्न मद्दत गरिरहेको आरोप लगाएका छन् । मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको संरक्षण रहेको भन्दै विपक्षीहरू एकजुट भएका छन् ।

एक वर्षअघिको लोकसभा निर्वाचन र हालैको केही राज्यका विधान सभा निर्वाचनमा लाखौं भारतीयको नाम मतदाता सूचीबाट हटाइएको थियो । जसले गर्दा बिजेपीलाई चुनाव जित्न सहज भएको विपक्षी दलहरूको आरोप छ ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १३ : ११  बजे