सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तराई–मधेसमा जितिया व्रत सुरु

काठमाडौं, १६ असोज । सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै तराई–मधेसमा जितिया व्रत सुरु भएको छ।

विशेषगरी आमाहरूले मनाउने जितिया कठोर व्रतका रूपमा लिइन्छ। व्रतालु महिलाले नदी, पोखरी तथा जलाशयमा स्नान गरी पितृ र जिमुतवाहन देवताको पूजा गर्दै व्रतको सङ्कल्प लिने गर्छन्।

परम्पराअनुसार व्रतको अघिल्लो दिन घरआँगन लिपपोत गरी चोखो बनाउने र पिना, तेल, घिरौलाको पात, जियलको पात तथा बाँसको पातलगायत सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ। स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिमुतवाहन देवतालाई पिना र तेल चढाइन्छ।

मुख्य व्रतका दिन बिहानै स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतालु महिलाले निराहार व्रत बस्ने गर्छन्। दिवङ्गत हजुरआमा, सासूआमालगायत तीन पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने तथा प्रसादी चढाउने परम्परा पनि छ।

थारू समुदायसहित तराई–मधेसका विभिन्न समुदायका महिलाले जितिया व्रत पुस्तौँदेखि मनाउँदै आएका छन्। सन्तानप्रतिको माया, पारिवारिक सद्भाव र धार्मिक आस्थासँग जोडिएको यो पर्व सामूहिक भेटघाट तथा सांस्कृतिक गतिविधिको अवसरसमेत बन्दै गएको छ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  ११ : १४  बजे