फार्मदेखि किचेनसम्म खाद्य स्वच्छतामा वरपीपल रिसोर्ट अति उत्तम

पोखरा, १२ असोज । पोखराको लेकसाइडस्थित वरपीपल रिसोर्टको किचेन, खाद्य सामग्री र सरसफाइ व्यवस्थालाई खाद्य स्वच्छताको उच्चतम श्रेणीमा राखिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, पोखराले गरेको निरीक्षणपछि रिसोर्टलाई अति उत्तम प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यालयका अनुसार निरीक्षणका क्रममा खाना तयार गर्ने किचनदेखि पानी, फलफूल तथा तरकारी, अन्य खाद्य सामग्री र कर्मचारीको व्यक्तिगत स्वच्छतासम्मका पक्ष परीक्षण गरिएको थियो । कार्यालय प्रमुख विजन श्रेष्ठका अनुसार होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता निरीक्षण तथा स्तरीकरणसम्बन्धी निर्देशिकाले खाद्य स्वच्छताका लागि चार तह- ‘सामान्य’, ‘सन्तोषजनक’, ‘उत्तम’ र ‘अति उत्तम’-निर्धारण गरेको छ ।

निरीक्षणपछि वरपीपल रिसोर्ट सबैभन्दा माथिल्लो तहमा परेको उहाँले बताउनुभयो । ‘हामीले वरपीपल रिसोर्टको किचन, सरसफाइ, खाद्य स्वच्छता, कच्चा पदार्थको अवस्था, हाइजिनलगायतका पक्ष परीक्षण गर्दा अति उत्तम अवस्था भेटियो,’ श्रेष्ठले भन्नुभयो ।

आज कार्यालयले रिसोर्टका महाप्रबन्धक श्याम गुरुङलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । वरपीपलको खाद्य व्यवस्थापनको एउटा विशेषता रिसोर्ट परिसरबाहिर पोखरामै रहेको ७० रोपनी क्षेत्रफलको कृषि फार्मसँग जोडिएको छ । रिसोर्टले सञ्चालन गरेको वरपीपल अर्गानिक एग्रो फार्ममा भैंसी, कुखुरा, तरकारी तथा फलफूल उत्पादन हुँदै आएको छ ।

रिसोर्टका लागि आवश्यक दूध, अण्डा, तरकारी र फलफूलमध्ये ठूलो हिस्सा आफ्नै फार्मबाट आपूर्ति गर्ने गरिएको महाप्रबन्धक गुरुङले बताउनुभयो । रिसोर्ट सञ्चालक जितु गुरुङका अनुसार कृषि उत्पादनलाई रिसोर्टको आपूर्ति प्रणालीसँग जोड्नुका साथै यसलाई दिगो पर्यटनको अभ्यासका रूपमा पनि अघि बढाइएको छ ।

रिसोर्टका एक्जुकेटिभ सेफ सुमन श्रेष्ठका लागि खाद्य स्वच्छताको प्रमाणपत्र दैनिक किचन अभ्यासको परिणाम हो । २८ वर्षदेखि सेफका रूपमा काम गर्दै आएका श्रेष्ठका अनुसार किचेनमा आउने खाद्य सामग्री परीक्षण गरेर मात्र प्रयोग गर्ने र खाना तयार गर्ने क्रममा सरसफाइ तथा गुणस्तरमा निरन्तर ध्यान दिने गरिएको छ ।

खाद्य स्वच्छताको प्रमाणपत्रसँगै रिसोर्टले आफ्नो आतिथ्य सेवाको दायरा पनि विस्तार गरेको छ। वरपीपलमा अहिले ५० वटा कोठा छन् । रिसोर्टमा जिम हल, साउना, स्टिम र स्पालगायतका सुविधा छन् । पर्याप्त पार्किङ, तीनवटा हल र डाइनिङको व्यवस्था पनि रहेको रिसोर्टले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  १६ : ४१  बजे