काठमाडौं, १२ असोज। होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक क्षमता अभिवृद्धिका लागि एकवर्षे राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु गरेको छ ।
४७औँ विश्व पर्यटन दिवसको अवसरमा महासंघले ‘नेसनल डिजिटल लिटरेसी क्याम्पेन फर द होटल एन्ड रेस्टुरेन्ट इन्डस्ट्री’ नामक अभियान सुरु गरेको हो । अभियानमार्फत सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) सँग जोड्ने लक्ष्य राखिएको छ ।
अभियान शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र प्रविधिको व्यावहारिक प्रयोग विस्तार आवश्यक रहेको बताउनुभयो ।
उहाँले आतिथ्यता क्षेत्रलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन व्यवसायीको क्षमता विकास तथा प्रविधिको प्रयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै अभियान सफल बनाउन मन्त्रालयको साथ र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न आवश्यक सहकार्य गर्न महासंघ तयार रहेको बताउनुभयो । उहाँले प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर तालिम, क्षमता अभिवृद्धि र व्यावसायिक सहकार्यका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्डका योजना तथा अनुगमन प्रमुख लक्ष्मण गौतमले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि अभियान महत्वपूर्ण रहेको बताउँदै महासंघसँग सहकार्य गर्न बोर्ड तयार रहेको धारणा राख्नुभयो ।
महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’को नेतृत्वमा अघि बढाइएको अभियान एक दिनको कार्यक्रम नभई एक वर्षसम्म सञ्चालन हुने महासंघले जनाएको छ ।
अभियानअन्तर्गत Google Business Profile तथा Google Maps मा व्यावसायिक विवरण व्यवस्थापन, अनलाइन बुकिङ तथा ओटीए प्रणाली, होटल व्यवस्थापन प्रणाली, डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, क्यूआर पेमेन्ट, ग्राहक समीक्षा व्यवस्थापन र डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिनेछ ।
विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यमा रहेका होटल तथा रेस्टुरेन्टलाई डिजिटल बजारसँग जोड्ने महासंघको लक्ष्य छ । व्यवसायको आकार, स्थान र आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकासलाई पनि अभियानमा प्राथमिकता दिइने जनाइएको छ ।
महासंघले सातै प्रदेश, जिल्ला तथा आबद्ध संघ–संस्थाको सञ्जालमार्फत अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ । अभियानले साना तथा मझौला व्यवसायीको डिजिटल पहुँच विस्तार गर्दै नेपाली आतिथ्यता क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया