रुपन्देही, ६ असोज । लुम्बिनी प्रदेशमा एक महिनामा भएका ४ सय १६ वटा सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गति र मादक पदार्थ सेवन मुख्य कारणबाट भएका छन् । भदौ महिनामा प्रदेशका १२ जिल्लामा ४ सय १६ सवारी दुर्घटना भएकोमा अधिकांश तीव्र गति र चालकले मादक पदार्थ सेवन गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको मासिक विवरणमा यसरी भएको सवारी दुर्घटनामा १९ जनाको मृत्यु तथा ७६२ जना घाइते भएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाका अनुसार चालकको लापरबाही, तीव्र गति र मापसेका कारण दुर्घटनाको जोखिम बढिरहेको छ ।
जिल्लागत तथ्यांकअनुसार भदौ महिनामा सबैभन्दा धेरै सवारी दुर्घटना रुपन्देहीमा भएका छन् । रुपन्देहीमा मात्रै १५७ वटा दुर्घटना भएका छन् । त्यस्तै बाँकेमा ८५, कपिलवस्तुमा ६९ र नवलपरासीमा २७ वटा सवारी दुर्घटना भएका छन् । यसैगरी बर्दियामा २३, दाङमा १४, गुल्मीमा १२, पाल्पामा १०, रोल्पामा ९, प्युठानमा ५ र अर्घाखाँचीमा ४ वटा दुर्घटना भएका छन् ।
पूर्वी रुकुममा भने सबैभन्दा कम अर्थात् एउटा मात्रै सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहजंग बुढाथापाका अनुसार भदौ महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ४८७ सवारी तथा चालकलाई कारबाही गरिएको छ ।
तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लापरबाही गर्ने, ओभरलोड गर्ने तथा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चलाउनेलगायतका कसुरमा उनीहरूलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना, चालकको जिम्मेवारीपूर्ण व्यवहार तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउने विषयमा नियमित रूपमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।











प्रतिक्रिया