काठमाडौं, ५ असोज । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायमा पुगेको क्षतिको पुनःस्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले पहल थालेको छ ।
महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिका पदाधिकारीसँग भेट गरी बाढी प्रभावित होटल, रेस्टुरेन्ट तथा खाजाघरको प्रारम्भिक क्षतिको विवरण र नामावली हस्तान्तरण गर्नुभएको छ ।
एफएनसीसीआई पर्यटन समितिको विशेष बैठकमा अध्यक्ष भण्डारीले उद्धार तथा तत्काल राहतको काम अघि बढे पनि बाढीबाट विस्थापित र क्षतिग्रस्त साना तथा मझौला पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापना आवश्यक रहेको बताउनुभयो ।
महासंघले प्रभावित व्यवसायीका लागि विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदानको व्यवस्था गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पुनःसंरचना तथा ब्याजमा छुटका लागि पहल गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै, बिमा गरेका व्यवसायीको दाबी रकम तत्काल उपलब्ध गराउनुपर्ने तथा बिमाको पहुँचमा नरहेका ग्रामीण क्षेत्रका साना होटल र खाजाघर व्यवसायीलाई क्षतिको मूल्याङ्कनका आधारमा विशेष आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग महासंघले राखेको छ ।
प्रस्तुत विवरण र मागप्रति एफएनसीसीआई अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिले समर्थन जनाउँदै प्रभावित पर्यटन व्यवसायीको पुनःस्थापना, बिमा दाबी भुक्तानी तथा वित्तीय सहुलियतका लागि सरकार र नेपाल राष्ट्र बैंकसँग पहल गर्ने प्रतिबद्धता जनाएको महासंघले जनाएको छ ।
महासंघले प्रभावित क्षेत्रका साना तथा मझौला पर्यटन व्यवसायीको व्यावसायिक सुरक्षा र पुनःस्थापना नभएसम्म आफ्नो पहल निरन्तर अघि बढाउने जनाएको छ ।












प्रतिक्रिया