जेनजी आन्दोलनपछि नेपालमा बाह्य चलखेल बढ्दै गयो : अध्यक्ष ओली

काठमाडौं, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप लगाउनुभएको छ । आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई लिएर गम्भीर प्रश्न उठाउनुभएको हो ।

उहाँले निजी सम्पत्तिमाथि देशव्यापी रूपमा आगजनी तथा लुटपाट भएको घटनालाई क्रान्ति वा परिवर्तनका रूपमा स्वीकार गर्न नसकिने बताउनुभएको छ । यस्ता घटनामा सत्ता परिवर्तनको उद्देश्यले बाह्य रूपमा प्रायोजित रणनीतिको छाप देखिएको उहाँको दाबी छ ।

‘यी घटनाहरूमा सत्ता परिवर्तनको उद्देश्यले बाह्य रूपमा प्रायोजित रणनीतिको स्पष्ट छाप देखिन्छ,’ ओलीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । उहाँले पछिल्लो समय विभिन्न विदेशी सञ्चारमाध्यममा प्रकाशित सामग्री तथा आएका नयाँ तथ्यहरूले नेपालको आन्तरिक राजनीतिमा भूराजनीतिक स्वार्थ कसरी प्रकट भएका थिए भन्ने विषयलाई थप पुष्टि गर्दै लगेको दाबी गर्नुभएको छ ।

ओलीले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल अझ बढेको पनि बताउनुभएको छ । नेपालको भूमिबाट छिमेकी मुलुकका संवेदनशीलतामाथि आँच पुर्याउने गतिविधि सरकारकै संरक्षणमा भइरहेको आरोपसमेत उहाँले लगाउनुभएको छ ।

‘त्यस घटनायता नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको छ । नेपालको भूमिबाट छिमेकीहरूका संवेदनशीलतामाथि आँच पुर्याउने काम सरकारकै संरक्षणमा भइरहेका छन्,’ ओलीले प्रतिवेदनमा भन्नुभएको छ । त्यस्तै, नेपालका मूल्यवान खनिज सम्पदाका विषयमा पछिल्लो समय सार्वजनिक भइरहेका संवेदनशील सूचना तथा समाचारले आम नेपालीलाई समेत सशङ्कित बनाएको ओलीले उल्लेख गर्नुभएको छ ।

उहाँले मुलुकको आन्तरिक राजनीति, राष्ट्रिय सुरक्षा, भूराजनीतिक स्वार्थ तथा प्राकृतिक स्रोत–साधनसँग जोडिएका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  १७ : ५९  बजे