टोकियो, ५ असोज । जापानमा शक्तिशाली टाइफुन डुजुआनको प्रभाव बढेसँगै राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा भारी वर्षा, तीव्र हावा, बाढी र पहिरोको जोखिम बढेको छ । जापानको मौसम विज्ञान निकायले टाइफुनका कारण वर्षा र हावाको अवस्था थप बिग्रिन सक्ने चेतावनी दिएको छ ।
टाइफुन टोकियो महानगर क्षेत्रनजिकैबाट अघि बढ्ने अनुमान गरिएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । डुजुआनका कारण सोमबार जापानमा कम्तीमा २७५ उडान रद्द भएका छन् । जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ भने अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान रद्द गरेको जनाएको छ ।
टोकियो तथा आसपासका केही रेलमार्गमा समेत सेवा प्रभावित भएको छ । टाइफुनका कारण चिबा क्षेत्रमा ४ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको विवरण सार्वजनिक भएको छ । भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
एसियाली खेलकुदका खेलसमेत प्रभावित
जापानमा जारी आइची–नागोया एसियाली खेलकुद पनि टाइफुनको प्रभावबाट अछुतो रहन सकेन । प्रतिकूल मौसमका कारण आइची प्रिफेक्चरमा सोमबारका लागि तय गरिएको घोडचढी प्रतियोगिता मंगलबारका लागि सारिएको रोयटर्सले जनाएको छ ।
जापानका चिफ डे मिसन कोसेई इनोउ नेतृत्वको टोलीले मौसमका कारण उत्पन्न हुन सक्ने जोखिम तथा आकस्मिक अवस्थाका लागि तयारी गरिरहेको जनाएको छ । खेलमा सहभागी खेलाडी तथा अधिकारीको आवागमन र व्यवस्थापनमा समेत मौसमले चुनौती थपेको छ ।
२०औँ एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोया क्षेत्रमा आयोजना भइरहेको छ । प्रतियोगितामा ४५ देश तथा क्षेत्रका करिब १७ हजार खेलाडी तथा अधिकारी सहभागी छन् ।
टोकियो गेम शो र अन्य कार्यक्रम रद्द
टाइफुनका कारण टोकियोमा आयोजना भइरहेको विश्वका ठूला भिडियो गेम प्रदर्शनीमध्ये एक टोकियो गेम शोको अन्तिम दिनको कार्यक्रम रद्द गरिएको छ । चिबामा आयोजना हुने ठूलो बाह्य संगीत महोत्सव तथा बेसबल खेलसमेत स्थगित÷रद्द भएका छन् । सार्वजनिक बिदाको समयमा आएको टाइफुनका कारण यात्रु तथा पर्यटकको आवागमनमा समेत असर परेको छ ।
प्रधानमन्त्री ताकाइचीको अमेरिका भ्रमणमा ढिलाइ
टाइफुनको प्रभाव जापानको सरकारी कामकाजमा समेत परेको छ । प्रधानमन्त्री साने ताकाइचीको अमेरिका भ्रमण प्रभावित भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने उनको प्रस्थान समय करिब चार घण्टा ढिला भएको रोयटर्सले जनाएको छ । ताकाइचीले टाइफुनबाट उत्पन्न अवस्थाको निगरानी गर्दै सरकारी निकायले जारी गरेका उद्धार तथा सुरक्षित स्थानमा जाने निर्देशन पालना गर्न नागरिकलाई आग्रह गरेकी छन् ।
भारी वर्षा र पहिरोको उच्च जोखिम
जापानको मौसम विज्ञान निकायले टाइफुनसँगै कान्तो क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिएको छ । इजु द्वीपसमूहतर्फ यसअघि नै ठूलो वर्षा भइसकेको छ भने आगामी समय थप वर्षा हुने अनुमान गरिएको छ । चिबा तथा टोकियो आसपासका क्षेत्रमा नदीको जलस्तर बढ्ने, सडक डुबानमा पर्ने तथा पहिरो जाने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन् ।
टाइफुनको प्रभावका कारण टोकियो आसपासका बासिन्दालाई नदी, समुद्री किनार तथा पहिरोको जोखिम भएका क्षेत्रबाट टाढा रहन र स्थानीय प्रशासनका आपत्कालीन सूचना निरन्तर निगरानी गर्न आग्रह गरिएको छ ।
जापानमा यस वर्ष चरम मौसमको सिलसिला
डुजुआन जापानमा यस वर्ष देखिएको चरम मौसमको अर्को उदाहरण बनेको छ । यसअघि देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी र भारी वर्षाका घटना भएका थिए । उत्तरपश्चिमी प्रशान्त क्षेत्रमा पनि यस वर्ष टाइफुनको गतिविधि उल्लेखनीय देखिएको छ ।
डुजुआनलाई यस क्षेत्रमा बनेको यस वर्षको २५औँ टाइफुनका रूपमा रिपोर्ट गरिएको छ । टाइफुनको केन्द्र जापानको मुख्य भूभागभन्दा समुद्रतर्फबाट अघि बढ्ने अनुमान भए पनि यसको प्रभावस्वरूप टोकियोसहित कान्तो क्षेत्रमा भारी वर्षा, तीव्र हावा, बाढी र पहिरोको जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन् ।











प्रतिक्रिया