भोटेकोशी विपद्लाई अन्तर्राष्ट्रिय मुद्दा बनाउन कांग्रेसको प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेट गरी भोटेकोशी विपद्सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन सुझाव दिनुभएको छ ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबार पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा उपसभापति शर्माले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद्सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका विषयलाई अन्तर्राष्ट्रियकरण गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिङ्गो देश रहेको सन्देश दिन कांग्रेसले भेटमार्फत आफ्ना धारणा प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कांग्रेसले भोटेकोशी विपद्पछि उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको जीवनरक्षाका विषयमा सरकारलाई हरसम्भव सहयोग गरिरहेको छ । त्यसैले जलवायु परिवर्तनसम्बन्धी छलफलबाट आएका सुझाव र महासभामा नेपालले उठाउनुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेका हौँ ।’

उपसभापति शर्माले भोटेकोशी विपद्लाई नेपालभित्रको एउटा विपद्का रूपमा मात्र सीमित नगरी जलवायु परिवर्तनले विश्वभर निम्त्याएको संकटसँग जोडेर अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले ठूलो मात्रामा भोगिरहेको उल्लेख गर्दै उहाँले साना तथा जोखिममा रहेका राष्ट्रहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन नेपालले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीको महासभा सम्बोधनसँगै विभिन्न देशका प्रतिनिधिसँग हुने साइडलाइन भेटवार्ता तथा कूटनीतिक लबिङलाई समेत जलवायु परिवर्तन र नेपालले भोगिरहेका विपद्का विषयमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउने दिशामा उपयोग गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

त्यसैगरी, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि प्रधानमन्त्रीले सर्वपक्षीय छलफल आह्वान गर्नु उचित हुने सुझावसमेत कांग्रेसका नेताहरूले दिनुभएको बताइएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  १४ : २३  बजे