काठमाडौं, ३ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि गम्भीर संकट पैदा भएको दाबी गर्नुभएको छ ।
संविधान दिवसका अवसरमा शनिबार जारी गर्नुभएको प्रेस वक्तव्यमा ओलीले गत वर्ष राज्यका प्रमुख धरोहरमाथि भएको विध्वंसकारी आक्रमणपछि संविधान र लोकतन्त्रमाथि संकट उत्पन्न भएको बताउनुभएको हो ।
वर्तमान सरकार संविधान र कानुनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाउँदै उहाँले राज्यका संवैधानिक तथा संस्थागत संरचनामाथि हस्तक्षेप भइरहेको दाबी गर्नुभएको छ ।
‘राज्यका संवैधानिक र संस्थागत संरचनालाई स्वेच्छाचारिताको बुटले कुल्चिइरहेको छ,’ ओलीले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
राज्यका विभिन्न अंगमा ‘गैरराजनीतिक’ र ‘प्रोफेसनल’ व्यक्ति चयन गर्ने नाममा थप राजनीतिकरण गरिएको आरोपसमेत उहाँले लगाउनुभएको छ । राजनीतिक नियुक्तिमा स्वेच्छाचारी ढंगले निर्णय भइरहेको उहाँको दाबी छ ।
ओलीले वर्तमान सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गरी बाह्य शक्तिकेन्द्रको स्वार्थअनुसार काम गरिरहेको आरोप पनि लगाउनुभएको छ ।
यस्तो परिस्थितिबाट मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभएको छ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा राष्ट्रिय एकता सुदृढ गर्न संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने उहाँको भनाइ छ ।
ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरणसमेत गर्नुभएको छ ।
उहाँले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो संघर्षको जगमा जननिर्वाचित संविधानसभाबाट बनेको ऐतिहासिक संविधान भएको बताउनुभएको छ । संविधानले गणतन्त्रलाई संस्थागत गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणाली स्थापित गरेको तथा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई आत्मसात गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको पूर्ण प्रत्याभूतिका लागि राज्य बलियो र समृद्ध हुनुपर्ने बताउँदै ओलीले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न अघि बढ्न आह्वान गर्नुभएको छ ।











प्रतिक्रिया