सुधन गुरुङलाई क्षितिज थेवेको प्रश्न– ‘राजनीति सिक्दैछु’ भन्नेदेखि ‘सिकाउने’ ठाउँमा कसरी पुग्नुभयो ?

काठमाडौं, २ असोज । नेकपा एमालेका युवा सांसद क्षितिज थेवेले गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिप्रति प्रश्न उठाउँदै विगतका भनाइ स्मरण गराउनुभएको छ । आज सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थेवेले गुरुङ मन्त्री भएको केही समय मात्रै भएकाले उहाँका राजनीतिक अभिव्यक्ति र कामलाई समय दिएर हेर्नुपर्ने बताउनुभयो ।

गुरुङले पुराना राजनीतिक दललाई राजनीति सिकाउन आएको भन्ने अभिव्यक्ति दिएको प्रसंगमा थेवेले भन्नुभयो,‘उहाँहरू मन्त्री भएको केही महिना मात्र हुँदैछ, समय लामो छ । पर्खिनुपर्छ, हेर्नुपर्छ, के रहेछ पोलिटिक्स भनेर ।’

उहाँले गृहमन्त्री गुरुङले यसअघि दिएका अभिव्यक्तितर्फ संकेत गर्दै भन्नुभयो,‘जेनजी आन्दोलनमा म पोलिटिसियन होइन भन्नुभएको थियो । राजनीति अचम्मको हुँदो रहेछ, म सिक्दै छु भन्नुभएको थियो । अहिले सिक्ने होइन, सिकाउने ठाउँमा पुगिसक्नुभयो !’

थेवेले गुरुङका अभिव्यक्तिलाई जनताले पनि सुनिरहेको र हेरिरहेको बताउनुभयो । यसैबीच, एमालेमा नेतृत्व हाँक्न सक्ने युवाको कमी नरहेको उहाँको दाबी छ । उहाँले एमालेले सुरुदेखि नै पार्टीका विभिन्न तहमा युवालाई निश्चित कोटामार्फत नेतृत्वमा ल्याउँदै आएको बताउनुभयो ।

‘एमालेमा हामी युवाहरू पर्याप्त छौँ । देशको नेतृत्व हाँक्न सक्ने युवाहरू छौँ,’ उहाँले भन्नुभयो,‘केन्द्रीय कमिटीदेखि प्रदेश र जिल्ला कमिटीसम्म युवालाई कोटा दिएर अगाडि बढाउने पार्टी एमाले हो ।’

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  १६ : १२  बजे