सरकारविरुद्ध प्रचण्डको घोषणा– ‘चाडपर्वपछि बृहत् संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनमा जान्छौं’

काठमाडौं, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनमा जाने तयारी भइरहेको बताउनुभएको छ । नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरू विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजसँग निरन्तर छलफलमा रहेको जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन आवश्यक रहेको बताउनुभयो । ‘अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौं,’ प्रचण्डले भन्नुभयो ।

विभिन्न दल, बुद्धिजीवी र नागरिक समाजसँग भइरहेको छलफल सकारात्मक दिशामा अघि बढिरहेको उहाँको दाबी छ । प्रचण्डले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै ‘प्रतिक्रान्ति’ परास्त गरी क्रान्तिलाई नयाँ उचाइमा लैजाने संकल्प गर्नुपर्ने बताउनुभयो ।

‘तपाईं–हामी सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ । हामी अहिले त्यही प्रक्रियामा छौं,’ उहाँले भन्नुभयो । चाडपर्व सकिएपछि देशको परिस्थिति मूल्यांकन गरेर नयाँ आन्दोलन सिर्जना गर्नुपर्ने प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  १५ : २३  बजे