काठमाडौं, २ असोज । एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भएको औपचारिक द्विपक्षीय बैठकमा नेपाली राष्ट्रिय झण्डा नराखिएको विषयमा सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले बिहीबार नयाँदिल्लीस्थित भारतीय वित्त मन्त्रालयमा सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुवै देशका प्रतिनिधिमण्डल सहभागी भएका थिए र छलफलमा बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा कनेक्टिभिटीलगायत विषय उठेका थिए ।
तर, सार्वजनिक भएका तस्बिरमा नेपाली पक्षतर्फ राष्ट्रिय झण्डा नराखिएको देखिएको भन्दै ज्ञवालीले यसलाई कूटनीतिक प्रोटोकलको गम्भीर विषयका रूपमा उठाउनुभएको हो ।
द्विपक्षीय वार्तामा दुवै देश समान हैसियतमा सहभागी हुने उल्लेख गर्दै उहाँले औपचारिक बैठकमा एउटा देशको मात्र झण्डा राखिनु उचित नभएको बताउनुभएको छ ।
‘यो कुनै अनौपचारिक बैठक थिएन । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भएको औपचारिक वार्ता थियो । यस्तोमा एउटा देशको मात्रै झण्डा हुनु शोभनीय हुँदैन । यो न्यूनतम कूटनीतिक प्रोटोकल विपरीत छ,’ ज्ञवालीले भन्नुभएको छ ।
उहाँका अनुसार यस्ता बैठकमा आयोजक देश र भ्रमणमा आएको देशबीच आवश्यक समन्वय हुनुपर्छ । आयोजक पक्षले झण्डा नराखेको अवस्थामा सम्बन्धित देशको दूतावासले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
ज्ञवालीले मन्त्रीलाई यस विषयको जानकारी नहुन सक्ने भन्दै नेपाली दूतावासले आवश्यक समन्वय गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा गम्भीर चुक भएको दाबी गर्दै उहाँले अब यस्तो गल्ती दोहोरिन नहुने बताउनुभएको छ ।
वाग्ले र सीतारमणबीचको भेटवार्तापछि सार्वजनिक विवरणमा भने नेपाल–भारत आर्थिक सम्बन्ध, बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीका विषयमा छलफल भएको उल्लेख छ ।
झण्डा व्यवस्थापनको विषयमा सम्बन्धित नेपाली तथा भारतीय पक्षबाट औपचारिक स्पष्टीकरण भने सार्वजनिक भएको स्रोतहरूमा देखिएको छैन।











प्रतिक्रिया