कार्कीको अभिव्यक्तिले जाँचबुझ आयोगमाथिको प्रश्न थप गम्भीर बनायो : निरज आचार्य

काठमाडौं, २ असोज । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले पत्रकार निमेष बन्जाडेसँगको अन्तर्वार्तामा अध्यक्ष कार्कीले ‘हामी नेपाल’का तत्कालीन प्रमुख तथा हालका गृहमन्त्री सुधन गुरुङ भदौ २३ गते बिहानै माइतीघरमा एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको बताउनुभएको उल्लेख गर्नुभएको छ ।

कार्कीको भनाइ उद्धृत गर्दै आचार्यले आन्दोलनको सम्भावित परिणामबारे गुरुङलाई पूर्वजानकारी थियो कि भन्ने प्रश्न उठेको बताउनुभएको छ । आयोगले अनुसन्धानका क्रममा सीसीटीभी फुटेज र मोबाइल लोकेसनसमेत अध्ययन गरेको कार्कीले बताउनुभएको विषय पनि आचार्यले उल्लेख गर्नुभएको छ ।

त्यस्तै, भदौ २४ गते भएको आगजनी, लुटपाट तथा विध्वंसमा संलग्नलाई कारबाही नगर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिएको अध्यक्ष कार्कीले बताउनुभएको आचार्यको दाबी छ । यस विषयमा सरकारले जेनजीसँग गरेको सहमतिअनुसार विध्वंसात्मक घटनामा संलग्नलाई कारबाही नगर्ने प्रसंग उठेको बताइएको छ ।

आचार्यले आयोग गठन भएदेखि नै एमालेले अध्यक्ष कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको स्मरण गराउनुभएको छ । उहाँले अहिले अध्यक्ष कार्कीकै अभिव्यक्तिले आयोगको निष्पक्षता, अनुसन्धानको दायरा र प्रतिवेदनका निष्कर्षबारे थप प्रश्न खडा भएको बताउनुभएको छ ।

आचार्यले एमालेले सुरुदेखि उठाउँदै आएको आशंका राजनीतिक आरोप मात्र थियो वा त्यसमा अनुसन्धानयोग्य आधारसमेत थियो भन्ने प्रश्न कार्कीको अभिव्यक्तिले थप गम्भीर बनाएको दाबी गर्नुभएको छ ।

उहाँले जेनजी आन्दोलनसँग सम्बन्धित तथ्यहरू क्रमशः सार्वजनिक हुँदै जाने दाबी गर्दै लोकतन्त्र र देशविरुद्ध गरिएका भनिएका षड्यन्त्रहरू पनि क्रमशः सार्वजनिक हुने बताउनुभएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले त्यसलाई औपचारिक रूपमा सार्वजनिक गरेको छैन । प्रतिवेदनका विभिन्न विषय भने सञ्चारमाध्यममार्फत सार्वजनिक हुँदै आएका छन् ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  १२ : ३५  बजे