आईजीपीविरुद्ध सांसद सुनारको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइयो

काठमाडौं, ३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिको केही अंश संसदीय अभिलेखबाट हटाइएको छ ।

गत भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले व्यक्त गर्नुभएको अभिव्यक्तिको केही शब्दावली अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले सचिवालयलाई निर्देशन दिनुभएको हो ।

सभामुख अर्यालले भदौ २६ गतेको बैठकमा सुनारले प्रयोग गर्नुभएको निश्चित वाक्यांशबीचको शब्दावली सभाको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले महानिरीक्षक कार्कीसँग सम्बन्धित रहेर सांसद सुनारले व्यक्त गर्नुभएको केही शब्द रेकर्डबाट हटाइएको जानकारी दिनुभएको छ ।

भदौ २६ गतेको बैठकको शून्य समयमा बोल्दै सुनारले महानिरीक्षक कार्कीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको भन्दै उहाँलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सुनारले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसद्को सार्वजनिक लेखा समितिसम्म भ्रष्टाचारसम्बन्धी उजुरी थपिँदै गएको दाबीसमेत गर्नुभएको थियो ।

उहाँले अन्य मन्त्री सामान्य आरोपकै आधारमा बर्खास्त भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीमाथि गम्भीर आरोप लाग्दासमेत कारबाही नभएको भन्दै सरकारसँग प्रश्न गर्नुभएको थियो ।

प्रकाशित मिति: ३० भदौ २०८३, मंगलबार  १८ : २६  बजे