काठमाडौं, ३० भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पछिल्लो साढे तीन दशकमा मुलुकमा कुनै प्रगति नभएको भन्ने भाष्यप्रति असहमति जनाउनुभएको छ । उहाँले ‘मुलुकमा केही भएन’ भन्नेहरूलाई तीन दशकअघिको नेपाल र अहिलेको नेपालको वस्तुगत तुलना गरेर हेर्न आग्रह गर्नुभएको छ ।
देउवाले सीमित स्रोत–साधनका बाबजुद नेपालले विगत तीन दशकमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिकको पहुँचलगायतका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताउनुभएको छ ।
उहाँले विकास र परिवर्तनको मूल्याङ्कन गर्ने सबैभन्दा प्रभावकारी आधार तुलनात्मक अध्ययन रहेको उल्लेख गर्दै विगत ३५ वर्षको राजनीतिक तथा सामाजिक परिवर्तनलाई समग्रतामा हेर्न आग्रह गर्नुभएको छ ।
‘विगत ३५ वर्षमा लामो राजनीतिक संक्रमणको अन्त्य गर्दै दलहरूले गरेका कामको वस्तुगत समीक्षासहित मुलुकलाई हेर्ने प्रयास गरौँ,’ देउवाले भन्नुभएको छ, ‘नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) लगायत क्रियाशील राजनीतिक दलहरूले केही गरेनन् भन्ने प्रश्नको उत्तर पनि त्यहीँबाट प्राप्त हुन्छ ।’
उहाँले मुलुकले हासिल गरेका उपलब्धिमा मात्र सन्तुष्ट भएर बस्न नहुने बताउनुभएको छ । अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै देउवाले जनताको अपेक्षा पूरा गर्न, सुशासन स्थापित गर्न, रोजगारी सिर्जना गर्न तथा आर्थिक समृद्धि हासिल गर्न थप नयाँ सोच, ऊर्जा र प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।
मुलुकलाई विकसित राष्ट्रका रूपमा अघि बढाउन विगतका उपलब्धिको समीक्षा गर्दै आगामी दिनका लागि थप प्रभावकारी योजना र कार्यदिशा तय गर्नुपर्ने उहाँको धारणा छ । उहाँले विकास र उपलब्धिको मूल्याङ्कन गर्दा नेपालको इतिहास, विगतका चुनौती र वर्तमान यथार्थलाई समेत बिर्सन नहुनेमा जोड दिनुभएको छ ।











प्रतिक्रिया