काठमाडौं, २८ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट आफूहरू बाहिरिनुको कारणबारे स्पष्टीकरण दिनुभएको छ ।
मन्त्री पोखरेलका अनुसार अन्तरक्रिया भइरहेका बेला दुई जना व्यक्तिले आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिनुभएको हो ।
सामाजिक सञ्जालमार्फत उहाँले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेसका विभिन्न जिल्लामा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गरिरहेको बताउनुभएको छ ।
उहाँका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दा बढी सरोकारवालाको सहभागिता थियो । आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका अवधारणाबारे पनि प्रत्यक्ष संवाद भइरहेको उहाँले बताउनुभएको छ ।
मन्त्री पोखरेलले घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सम्पूर्ण घटनाको सन्दर्भ बङ्ग्याउने प्रयास भएको दाबी गर्नुभएको छ ।
उहाँले लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने बताउनुभएको छ ।
घटनापछि पनि आफ्नो टोलीले शिक्षा सुधारका लागि स्थलगत संवादलाई निरन्तरता दिएको उहाँले बताउनुभएको छ । सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरिएको र एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको उहाँको भनाइ छ ।
मन्त्री पोखरेलले मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव तथा शिक्षा क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्ट पक्षबाट भ्रम फैलाउने प्रयास भएको संकेतसमेत गर्नुभएको छ ।
उहाँले आफूहरू राजनीतिक स्टन्ट वा हल्ला गर्न नभई स्थलगत रूपमा पुगेर शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आएको बताउँदै आफ्नो काम र नियतको मूल्याङ्कन जनताले गर्ने बताउनुभएको छ ।
मधेसमा आयोजित कार्यक्रमबाट शिक्षामन्त्री पोखरेल बाहिरिएको छोटो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे विभिन्न टिप्पणी भइरहेका बेला उहाँले भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेटेको स्पष्टीकरण दिनुभएको हो ।











प्रतिक्रिया