काठमाडौं, २६ भदौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुनारले प्रहरीको बन्दोबस्तीका सामग्री (मोजा, जुत्ता र कपडा) खरिदमा करोडौँको भ्रष्टाचार भएको विषय सार्वजनिक लेखा समिति लगायतका निकायमा पुग्दा पनि सरकारले कुनै चासो नदेखाएको आरोप लगाउनुभयो ।
सांसद सुनारले सरकारको काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै भन्नुभयो,‘सामान्य आरोप लाग्दा अन्य मन्त्रीहरू बर्खास्तीमा पर्छन्, तर प्रहरी महानिरीक्षकमाथि करोडौँको भ्रष्टाचारको आरोप लाग्दा पनि उहाँ पदमै हुनुहुन्छ । यो कस्तो खालको न्याय हो ?’
उहाँले मन्त्री र प्रहरी प्रमुखका लागि छुट्टाछुट्टै मापदण्ड नहुने बताउँदै सो घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गर्नुभयो । सांसद सुनारले प्रहरीको भ्रष्टाचारलाई निकै संवेदनशील विषयका रूपमा व्याख्या गर्नुभयो ।
उहाँले भन्नुभयो,‘बाबुलाई छोरीको चरित्र र पुलिसलाई चोरीको आरोप लाग्यो भने त्यो अत्यन्तै गम्भीर र लज्जास्पद हुन्छ ।’ प्रहरी सङ्गठन जस्तो सुरक्षा निकायमा बस्ने व्यक्तिमाथि यति ठुलो आर्थिक अनियमितताको आरोप लाग्नुले आम नागरिकमा निराशा छाएको र सङ्गठनको साख नै गिरेको उहाँको भनाइ थियो ।
यदि यी आरोपहरू साँचो हुन् भने सरकारले महानिरीक्षकलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने उहाँले माग गर्नुभयो । सांसद सुनारले भ्रष्टाचारको विषय सार्वजनिक भइसक्दा पनि सरकार मौन बस्नुलाई ‘अनियमिततामाथिको संरक्षण’ को रूपमा अर्थ्याउनुभयो ।











प्रतिक्रिया