स्पिनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित

काठमाडौं, २५ भदौ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७ रनको शानदार जित हात पारेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ र जितेन रामानन्दीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए । रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए । नेपाल २३ रनमा पहिलो विकेट गुमाएपछि ३६–४ को संकटमा पुगेको थियो । त्यसपछि दीपेन्द्र र बसिरले ९३ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।

देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओमानका जय ओडेडराले १० ओभरमा २६ रन दिएर ३ विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मुहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए ।

जितसँगै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । नेपालले अब उपाधिका लागि यूएईसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।

फाइनल जिते नेपाल एसिया कपमा छनोट हुनेछ । सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा समेत छनोट भएको छ ।

प्रकाशित मिति: २५ भदौ २०८३, बिहिबार  १३ : २५  बजे