बाढी प्रभावित रसुवामा निःशुल्क स्याटेलाइट इन्टरनेट, उद्धार र राहतमा सञ्चार सहज बनाउने पहल

काठमाडौं, २३ भदौ । बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेको रसुवाका प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।

डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र यूटेल्स्याट वनवेब (Eutelsat OneWeb) ले नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को स्वीकृति तथा समन्वयमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएका हुन् ।

यो सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको हो । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भदौ १० गते रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन यो पहल गरिएको डिशहोमले जनाएको छ ।

प्राकृतिक विपद्को समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने भएकाले प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

यूटेल्स्याट वनवेबको लो–अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ। यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा राहत कार्यमा संलग्न सरोकारवालाबीच सूचना आदान–प्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डिशहोमले प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको जनाएको छ । विपद् व्यवस्थापन तथा पुनःस्थापनाको अवधिमा आवश्यकताअनुसार आफ्ना सेवा तथा स्रोत परिचालन गर्दै जाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।

त्यस्तै, डिशहोमले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकता मूल्याङ्कन गर्ने जनाएको छ । सञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानमा समेत स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने कम्पनीको भनाइ छ ।

डिशहोम र यूटेल्स्याट वनवेबले विपद्को समयमा प्रविधिको प्रभावकारी प्रयोगमार्फत आपत्कालीन सञ्चार, उद्धार तथा राहत कार्यमा योगदान पुर्‍याउँदै प्रभावित समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता सुदृढ गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २४ भदौ २०८३, बुधबार  १४ : ०७  बजे