काठमाडौं, २१ भदौ । वीरगन्जस्थित एक क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ जना पक्राउ पर्नुभएको छ।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेललगायत रहनुभएको छ।
वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित क्लार्क रिसोर्टमा रहेको गोल्डेन फिगर गेमिङ जोन क्यासिनोमा शनिबार राति प्रहरीले छापा मारेको हो। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
छापा मार्ने क्रममा जुवा खेल्ने तथा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने कार्यमा संलग्न क्यासिनोका कर्मचारीसहित आठ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ।
पक्राउ पर्नुहुनेमा गाउँपालिका अध्यक्ष यादव, सखुवा प्रसौनी–६ का ३० वर्षीय चन्दन सहनी, वीरगन्ज–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी निरीक्षक प्रदीप पौडेल रहनुभएको छ।
यस्तै, क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साह पनि पक्राउ पर्नुभएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नुभएका आठै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी मल्लले जानकारी दिनुभएको छ।











प्रतिक्रिया