काठमाडौं, १९ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
शुक्रबार बिहान खोजी तथा उद्धारका क्रममा सुरुङबाट पहिलोपटक सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो। उहाँ नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुनुहुन्छ।
आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला साह त्यहाँ पुग्नुभएको हुनसक्ने बताइएको छ। उहाँलाई सुरुङबाट बाहिर निकालिएपछि थप एक जनाको समेत जीवितै उद्धार गरिएको उद्धारमा खटिनुभएका इन्जिनियर उदयराज न्यौपानेले जानकारी दिनुभएको छ।
यससँगै त्रिशूली–३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धारमा निरन्तर खटिरहेको छ।
यसअघि आज बिहान उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो।
भोटेकोशी बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोलीले १० दिनदेखि खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। अन्य फसेका व्यक्तिको अवस्थाबारे भने थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया