काठमाडौं, १८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा एलपी ग्यासको अभाव नभएको स्पष्ट पार्नुभएको छ । उहाँले प्राकृतिक विपद् तथा सडकको असहज अवस्थाका कारण काठमाडौं उपत्यकामा ग्यास सहज रूपमा भित्र्याउन नसकिएको बताउनुभएको हो ।
मन्त्रालयमा आज एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका विषयमा होटल व्यवसायी तथा सम्बन्धित सरोकारवालासँग आयोजित छलफलमा मन्त्री यादवले प्राकृतिक विपद् र सडकको कठिन अवस्थाका कारण आपूर्ति व्यवस्थापन प्रभावित भएको जानकारी दिनुभएको हो ।
मन्त्रालयको सभाहलमा आयोजित छलफलमा मन्त्री यादवले भन्नुभयो,‘अहिले ग्यास अभाव भएको होइन । प्राकृतिक विपद् र बाटोको असहज अवस्थाका कारण ग्यास आपूर्तिमा समस्या भएको हो। बाटोघाटोको सास्ती र विपद्का कारण काठमाडौं उपत्यकामा सहज रूपमा ग्यास भित्र्याउन नसकिएको हो ।’
उहाँले वर्तमान अवस्था सबैका लागि परीक्षाको घडी भएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकार, व्यवसायी र नागरिक सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘यो प्राकृतिक विपद्का कारण सिर्जित एउटा परीक्षाको घडी हो । यस घडीमा हामी सबै एकजुट भएर यो समस्याको सामना गर्नुपर्छ,’ मन्त्री यादवले भन्नुभयो ।
मन्त्री यादवले साना तथा ठूला सबै वर्गका नागरिक र व्यवसायीको चुलो बलिरहनुपर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो । उहाँले ग्यास आपूर्तिलाई सहज बनाउन सरकारले वैकल्पिक व्यवस्थासमेत अघि बढाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहानै प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी करिब १०० वटा ट्रकमार्फत खाली सिलिन्डर पठाएर भरिएका सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ । सडक साँघुरो हुनुका साथै ठाउँ–ठाउँमा साना तथा घुमाउरा मोड रहेकाले ठूला ग्यास बुलेट आउन नसक्ने अवस्था रहेको मन्त्री यादवले बताउनुभयो ।
त्यसकारण हाल सिलिन्डरमार्फत नै ग्यास ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । मन्त्री यादवले होटल व्यवसायीहरूलाई समेत ग्यास ढुवानी व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ । व्यवसायीलाई ढुवानी तथा आपूर्ति व्यवस्थापनमा सहयोग गर्दा सुरक्षाको पूर्ण ग्यारेन्टी सरकारले गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
‘अहिलेको बाटोको समस्या समाधान हुनेबित्तिकै ग्यासको आपूर्ति पुनः सहज हुनेछ । तबसम्मका लागि सबैले हातेमालो गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो ।
छलफलका क्रममा होटल व्यवसायीहरूले भने सरकारले ग्यास उपलब्ध नगराउने भन्ने हल्ला फैलिएपछि उपभोक्तामा थप अन्योल र समस्या सिर्जना भएको बताउनुभएको थियो । उहाँहरूले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारसँग समन्वय र प्रभावकारी व्यवस्थापनका लागि आग्रह गर्नुभएको थियो ।











प्रतिक्रिया