राहतमा ‘एकद्वार प्रणाली’ होइन, प्रभावितको भोक मेटाउनेतर्फ सरकारको ध्यान जाओस् : सांसद बराल

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) की सांसद एशुदा कुमारी बरालले विपद् प्रभावित नागरिकले तत्काल राहत पाउन नसकेको भन्दै सरकारको राहत वितरण प्रणालीप्रति असन्तुष्टि जनाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले राहत वितरणमा ‘एकद्वार प्रणाली’ लागू गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा प्रभावित नागरिक समस्यामा परेको बताउनुभयो । ‘प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भनेजस्तो गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘यसैगरी सरकारले राहत वितरणमा एकद्वार प्रणालीको नीति ल्याएको छ । यो भन्दा जनताहरू भोकै छन्।’

उहाँले विपद्का कारण बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी सुरुङ तथा जोखिमपूर्ण स्थानमा फसेकाहरूको उद्धारमा सरकार थप जिम्मेवार र सक्रिय बन्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद बरालले विपद्को समयमा नागरिकको जीवन जोगाउनु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै नागरिकको जीवनभन्दा ठूलो अरू केही हुन नसक्ने बताउनुभयो । उहाँले राहत वितरणमा ढिलाइ नगरी प्रभावित नागरिकसम्म तत्काल आवश्यक खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सामग्री पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति: १८ भदौ २०८३, बिहिबार  १५ : ४६  बजे