काठमाडौं, १८ भदौ । रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण भोटेकोशी बाढीले जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएपछि नेपालबाट बंगलादेशतर्फ हुँदै आएको विद्युत् निर्यात रोकिएको छ । बाढीका कारण भारततर्फ निर्यात हुँदै आएको विद्युत्समेत कटौती गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएपछि ती आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश पठाउन नसकिएको प्राधिकरणको भनाइ छ । नेपालले यी दुई आयोजनाबाट उत्पादित करिब ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो ।
बाढीले उत्पादन गृह, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि अहिले उक्त विद्युत् निर्यात रोकिएको हो । नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यातको अनुमति पाए पनि बाढीका कारण निर्यातयोग्य विद्युत् उत्पादन घटेको छ ।
भोटेकोशी बाढीबाट नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका गरी १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । सञ्चालनमा रहेका आयोजनासँगै निर्माणाधीन आयोजनाका संरचनामा समेत बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ ।
आयोजनाको उत्पादन प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर विद्युत् निर्यातमा परेको हो । बाढी प्रभावित आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु नभएसम्म भारततर्फको निर्यातमा समेत थप दबाब पर्ने प्राधिकरणको आकलन छ ।
उत्पादनसँगै उद्धारमा पनि ठूलो चुनौती
भोटेकोशी बाढीले जलविद्युत् आयोजनाका संरचना मात्रै क्षतिग्रस्त बनाएको छैन, निर्माणाधीन आयोजनामा कार्यरत श्रमिक तथा कर्मचारीको खोजी तथा उद्धार कार्यसमेत अत्यन्त जटिल बनाएको छ ।
लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी सम्भावित फसेका व्यक्तिको खोजी गरिरहेको छ । टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर त्यहाँ फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको छ ।
चिलिमे हाइड्रोपावरमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार जारी राखिएको छ । त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ । टोलीले पाँच वटा एक्स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा थुप्रिएको लेदो, माटो तथा अन्य अवरोध हटाउने काम गरिरहेको छ ।
राति करिब २ बजेसम्म उद्धार कार्य जारी राखिएको थियो । सुरुङको आउटलेटमा रहेको होल साँघुरो भएपछि क्राउन क्षेत्रमा ब्लास्टिङ गरी होल ठूलो बनाउने तथा सफा गर्ने कामसमेत गरिएको छ । सुरुङभित्र पुगेर सम्भावित फसेका व्यक्तिको खोजी गर्न आउटलेट खुलाउने कामलाई प्राथमिकता दिइएको छ ।
माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना, गैरसैनिक जनशक्ति र आयोजनाका अधिकारीसहितको संयुक्त टोली परिचालन गरिएको छ । सेनाका ८९ जना, तीन जना गैरसैनिक कर्मचारी तथा आयोजना प्रबन्ध निर्देशकसहितको टोलीले आयोजना कार्यालय र आवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो खुलाउने काम गरिरहेको छ ।
९७४ जना अझै सम्पर्कविहीन
भारी पहिरो र लेदोका कारण अवरुद्ध क्षेत्रमा एक्स्काभेटर तथा बुर्कट प्रयोग गरी सडक खुलाउने र माटो पन्छाउने काम भइरहेको छ । तर, भौगोलिक कठिनाइ, निरन्तर पहिरो, लेदो तथा सुरुङभित्र जमेको माटोका कारण खोज तथा उद्धार कार्य जोखिमपूर्ण बनेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित १२ वटा जलविद्युत् आयोजनामा कार्यरत नेपाली तथा विदेशी श्रमिक र कर्मचारीमध्ये ठूलो संख्या अझै सम्पर्कमा आउन सकेका छैनन् । प्रभावित आयोजनामा कार्यरत ९७४ जना सम्पर्कविहीन रहेको जनाइएको छ ।
बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेका वा सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन हुन सकेको छैन । सरकारले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धार टोली परिचालन गरेको छ ।
तर, बाढीपछि उत्पन्न भएको भौगोलिक जटिलता, ठूला पहिरो, लेदो र सुरुङभित्र थुप्रिएको माटोका कारण उद्धारमा ठूलो चुनौती देखिएको छ । बाढीबाट मानवीय क्षतिसँगै जलविद्युत् उत्पादन र प्रसारण पूर्वाधारमा समेत गम्भीर असर परेपछि यसको प्रभाव तत्काल उद्धारमा मात्र नभई नेपालको विद्युत् निर्यात र ऊर्जा आम्दानीमा समेत पर्ने देखिएको छ ।











प्रतिक्रिया