काठमाडौं, १८ भदौ । बाढीसँगै हिलो र माटोले पुरिएका सुरुङमा फसेका मानिसको उद्धार गर्ने विशेषज्ञता तथा तत्काल प्रयोग गर्न सकिने प्रविधि विश्वमै उपलब्ध नभएको प्रधानमन्त्री बालेन्द्र शाहको दाबीप्रति विज्ञहरूले आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालमा मात्र नभई विश्वका अन्य मुलुकमा पनि बाढी र हिलोले पूर्ण रूपमा पुरिएका सुरुङबाट उद्धार गर्ने विशेष विशेषज्ञता र तत्काल प्रयोग गर्न सकिने प्रविधि नभएको दाबी गर्नुभएको थियो।
तर, इन्जिनियर तथा सुरुङ विज्ञहरूले यस्तो दाबी तथ्यसंगत नभएको बताएका छन्। उनीहरूका अनुसार हिलो र ढुंगाले पुरिएका सुरुङबाट उद्धार प्रक्रिया जटिल र समय लाग्ने भए पनि विश्वका विभिन्न मुलुकमा यस्ता घटनामा आधुनिक प्रविधि प्रयोग गरेर सफल उद्धार भइसकेको छ।
इन्जिनियरिङ जियोलोजिस्ट सुवासचन्द्र सुनुवारका अनुसार चिलिमे तथा माथिल्लो त्रिशूली–३ ‘ए’ का सुरुङमा ठूलो मात्रामा हिलो र ढुंगा भरिएकाले उद्धारमा समय लाग्नु स्वाभाविक हो। तर, विश्वमा यस्तो अवस्थाका लागि वैकल्पिक प्रविधि र उपकरण उपलब्ध रहेको उहाँको भनाइ छ।
उहाँले पेरुमा सन् २०१२ मा सुरुङमा फसेका नौ जना श्रमिकलाई मुख्य सुरुङबाट उद्धार गर्न सम्भव नभएपछि माथिबाट सानो बोरिङ मेसिन प्रयोग गरेर उद्धार गरिएको उदाहरण दिनुभयो। त्यस्ता उपकरण चीनलगायतका मुलुकमा उपलब्ध रहेको उहाँले बताउनुभयो।
भारतमा समेत हिमताल विस्फोटपछि बाढीले पुरिएका सुरुङबाट सफल उद्धार भएको उदाहरण रहेको उहाँको भनाइ छ। सन् २०२१ मा तपोवन जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिकमध्ये १२ जनाको उद्धार गरिएको थियो भने सन् २०२३ मा सिल्क्यारा सुरुङमा फसेका ४१ श्रमिकलाई ठाडो ड्रिलिङ, तेर्सो पाइप ज्याकिङ तथा ‘र्याट होल’ प्रविधिसहितको संयोजनबाट उद्धार गरिएको थियो।
सुनुवारका अनुसार चीनसँग मोबाइल डिवाटरिङ पम्प, माइक्रो टीबीएमलगायत सुरुङ उद्धारमा प्रयोग हुने आधुनिक उपकरणहरू छन्।
उहाँले सरकारसँग उपलब्ध स्रोतसाधनबाट मात्र उद्धार सम्भव नभए निजी क्षेत्र तथा स्वदेश–विदेशका विशेषज्ञलाई तत्काल परिचालन गर्नुपर्ने बताउनुभयो। उद्धारमा ढिलाइ भएको भन्दै उहाँले वैकल्पिक योजना बनाएर आयोजनाअनुसार फरक रणनीति अपनाउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो।
फिल्डमै उद्धार कार्यमा खटिनुभएका जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेले पनि प्रधानमन्त्रीको भनाइ गलत भएको बताउनुभयो।
उहाँका अनुसार सुरुङमा हिलो कसरी भरियो भन्ने विषय फरक भए पनि हिलोले भरिएको सुरुङबाट उद्धार गर्ने प्रविधि विश्वमा उपलब्ध छ। आधुनिक उपकरण प्रयोग गर्न सकिए उद्धार प्रक्रिया तुलनात्मक रूपमा छिटो बनाउन सकिने उहाँको भनाइ छ।
न्यौपानेले सुरुङभित्र एक्स्काभेटर लैजान नसकिने भए पनि सुरुङको मुख तथा पहुँच मार्ग खुलाउन बाहिरबाट थप उपकरण प्रयोग गर्न सकिने बताउनुभयो।
नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले पनि संसारमा हरेक इन्जिनियरिङ समस्याको समाधान खोज्ने प्रविधि र विशेषज्ञता रहेको बताउनुभयो।
प्रधानमन्त्रीले विश्वमै यस्तो विशेषज्ञता नभएको र अनुकूल अवस्था आएपछि मात्र उद्धार गर्न सकिने आशय व्यक्त गर्नु गैरजिम्मेवार भएको उहाँको आरोप छ। उद्धारमा ढिलाइ हुनु दुःखद भएको भन्दै उहाँले बाढी आएको दिनदेखि नै स्वदेश तथा विदेशमा उपलब्ध विज्ञ र उपकरण प्रयोग गर्न आफूहरूले पहल गरे पनि सरकारले त्यसलाई बेवास्ता गरेको दाबी गर्नुभयो।
उहाँले उद्धारमा खटिएका नेपाली सेना, प्रहरी तथा अन्य टोलीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग र प्रविधि जुटाउनुपर्ने बताउनुभयो।
लाङटाङ जलविद्युत् आयोजनाका प्रवर्द्धक विजयमान भट्टराईले पनि नेपालका लागि यस्तो प्रविधि नयाँ हुन सक्ने भए पनि विश्वमै प्रविधि र विशेषज्ञता नभएको भन्न नमिल्ने बताउनुभयो।
उहाँका अनुसार आफ्नो प्राविधिक टोली र नेपाली सेनाको सहकार्यमा पेनस्टक पाइप काटेर सुरुङमा फसेका कामदारसम्म पुग्ने बाटो तयार पारिएको छ। उक्त आयोजनाको सुरुङमा करिब २५ जना कामदार फसेको अनुमान गरिएको उहाँले बताउनुभयो।
यसअघि प्रधानमन्त्री शाहले बाढी र हिलोले पूर्ण रूपमा पुरिएका सुरुङमा तत्काल उद्धार गर्न सकिने प्रविधि तथा विशेषज्ञता विश्वमै नभएको र धेरै एक्स्काभेटर एकैपटक प्रयोग गरेर पनि उद्धार गर्न नसकिने बताउनुभएको थियो।
विज्ञहरूले भने उद्धारको अवस्था अत्यन्त जटिल भए पनि उपलब्ध अन्तर्राष्ट्रिय अनुभव, विशेषज्ञता र आधुनिक उपकरणलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।











प्रतिक्रिया