काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विपत्तिको संवेदनशील घडीमा नागरिकले राज्यको अभिभावकत्व खोजिरहेको भए पनि विपद्ग्रस्त क्षेत्रमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक देखिएको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालका पोस्टमा सरकारको सक्रियता र दाबी देखिए पनि वास्तविक रूपमा उद्धार, राहत तथा व्यवस्थापनको अवस्था कमजोर रहेको टिप्पणी गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘सामाजिक सञ्जालका पोस्टहरूमा सरकारको जति सक्रियता र दाबी देखिन्छ, वास्तविक जमिनमा उद्धार, राहत र व्यवस्थापनको अवस्था त्यति नै कमजोर छ । विशेषगरी सुरुङमार्ग र जटिल भूभागमा फसेका नागरिकको उद्धारमा सरकारले ‘एक्लै सबै गर्छु’ भन्ने अहम् राखेर बाह्य विशेषज्ञको सहयोग लिन गरेको ढिलाइ सबैभन्दा गम्भीर भूल हो ।’
अहिले आएर प्रधानमन्त्री आफैँले उद्धारमा ढिलाइ भएको स्वीकार गर्दै विभिन्न देशका विज्ञ टोलीसँग समन्वय भइरहेको जानकारी दिनुभएको उहाँले उल्लेख गर्नुभएको छ । ‘विज्ञ झिकाउन तत्कालै तत्परता देखाइएको भए उद्धारमा यति गम्भीर ढिलाइ हुने थिएन कि ?’ उहाँले प्रश्न गर्नुभएको छ ।
उहाँले विपद्पछिको व्यवस्थापन (पोस्ट क्राइसिस म्यानेजमेन्ट) मा समेत राज्यसंयन्त्र अत्यन्तै दिशाहीन देखिएको बताउनुभएको छ । भएका सीमित स्रोत–साधनको समेत प्रभावकारी सदुपयोग हुन नसकेको उहाँको भनाइ छ । सहज स्थानमा मात्र सरकारको बाक्लो उपस्थिति देखिए पनि मुख्य प्रभावित क्षेत्रमा अझै पर्याप्त सहयोग पुग्न नसकेको उहाँले बताउनुभएको छ ।
दिनरात खटिएर काम गर्ने तथा सकारात्मक सुझाव दिनेहरूमाथि नै सरकारका मन्त्री र सत्ता समर्थित माननीयहरूबाट हप्कीदप्की तथा संवेदनहीन टिप्पणी आउनु झनै आपत्तिजनक भएको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ, ‘यस्तो अहम् र प्रचारबाजी त्यागेर अत्यन्तै संवेदनशील भई तत्काल उद्धार, राहत, घाइतेको शीघ्र उपचार र विस्थापितहरूको उचित व्यवस्थापनमा केन्द्रित हुन सरकारलाई सचेत गराउन चाहन्छु ।’











प्रतिक्रिया