काठमाडौं, १७ भदौ । चीनले नेपाल–चीन सीमाक्षेत्रमा हालै भएको विनाशकारी हिमपहिरो तथा बाढी–पहिरो दीर्घकालीन जलवायु तापक्रम वृद्धिका कारण हिमनदी अस्थिर भएपछि उत्पन्न भएको बताउनुभएको छ ।
आज चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीन र नेपालका विज्ञहरूले गर्नुभएको मूल्याङ्कनका आधारमा विपद्को कारणबारे यस्तो निष्कर्ष निकालिएको जानकारी दिनुभएको हो ।
हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रमले निम्त्याएको संकट तथा चीनले छिमेकी मुलुकसँग मिलेर ‘हिमालय परिषद्’ गठन गर्नुपर्ने प्रस्तावबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता गुओले नेपालमा रहेको एउटा हिमनदीमा बरफ–चट्टानसहितको हिमपहिरो गएको बताउनुभएको थियो ।
उक्त हिमपहिरो तीव्र गतिमा पहाडको भिरालो भाग हुँदै तल झरेर पहाडको सतहमा ठूलो कटान गरेपछि विपद् उत्पन्न भएको उहाँले बताउनुभयो। प्रवक्ता गुओका अनुसार चीन र नेपालले लामो समयदेखि मौसम विज्ञान, जलस्रोत तथा विपद् रोकथाम र न्यूनीकरणका क्षेत्रमा राम्रो सहकार्य गर्दै आउनुभएको छ ।
हालैको विपद्पछि चीनले नेपाललाई प्रभावित क्षेत्रका तस्बिर, भू–उपग्रह तथा जलविज्ञानसम्बन्धी तथ्याङ्क र माथिल्लो क्षेत्रमा बनेको तालको पूर्वसूचनासम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । चीनले नेपालको विपद् उद्धार तथा राहत प्रयासलाई निरन्तर बलियो समर्थन गर्ने तथा विपद् रोकथाम र न्यूनीकरणका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता पनि प्रवक्ता गुओले व्यक्त गर्नुभयो ।
उहाँले जलवायु परिवर्तन सम्पूर्ण मानवजातिले सामना गरिरहेको साझा चुनौती भएको उल्लेख गर्दै कुनै पनि देश यसको प्रभावबाट अछुतो रहन नसक्ने बताउनुभयो । चीनले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर आदानप्रदान तथा सहकार्यलाई थप मजबुत बनाउने र जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई प्रभावकारी रूपमा रोकथाम तथा न्यूनीकरण गर्न निरन्तर काम गर्ने उहाँको भनाइ थियो ।
नेपालसहित छिमेकी मुलुकसँग ‘हिमालय परिषद्’ गठन गर्ने प्रस्तावबारे भने प्रवक्ता गुओले ‘तपाईंले उल्लेख गर्नुभएको विशेष प्रस्तावबारे सम्बन्धित सक्षम निकायसँग प्रश्न गर्नुहोस्’ भन्दै थप टिप्पणी गर्नुभएन ।











प्रतिक्रिया